मन्त्रिमण्डल पूर्णताको अन्तिम तयारीमा देउवा: को-को बन्दैछन् मन्त्री ? - रुपान्तरण
 २०८१ बैशाख २४, सोमबार    

मन्त्रिमण्डल पूर्णताको अन्तिम तयारीमा देउवा: को-को बन्दैछन् मन्त्री ?


काठमाडौं । सत्तारुढ गठबन्धन आबद्ध दलहरूबीच मन्त्रीको सङ्ख्या भागबण्डा भएसँगै प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारको अन्तिम तयारी गरिरहेका छन् । देउवाले मन्त्रिपरिषद् विस्तार गर्नका लागि गठबन्धन आबद्ध दलहरूसँग मन्त्रीको नाम मागेका छन् । दलहरुले आन्तरिक विवाद टुंग्याएर मन्त्रीहरुको नाम दिएको खण्डमा विहीबार वा शुक्रबार भित्र मन्त्री मण्डलले पूर्णता पाउने लगभग निश्चित छ ।

सरकारले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश फिर्ता लिएसँगै गठबन्धनका बीच मन्त्रीको सङ्ख्या कसले कति लिने सहमति जुटिसकेको छ । स्रोतका अनुसार कांग्रेसले ७ मन्त्रालय र माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी तथा जसपाले एक राज्यमन्त्रीसहित ५/५ मन्त्रालय र एक राज्यमन्त्र लिने सहमति भएको हो ।

वालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री देउवाले बुधवार नै मन्त्रीपरिषद्लाई पूर्णता दिन चाहेको भएपनि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले भने भोलि बिहीबारसम्म पर्खन देउवालाई आग्रह गरेका छन् । यस्तै जसपा अध्यक्ष उपेन्द्र यादवसमेत काठमाडौं बाहिर रहेको र उनी फर्किएपछि विहीबार वा शुक्रबार मन्त्रिपरिषद् विस्तार हुनेछ ।

मन्त्रीपरिषद् विस्तारकै विषयमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री देउवाबीच मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको थियो । दुई नेताबीच कुन मन्त्रालय कसले लिने भन्ने विषयमा छलफल भएको हो ।

मन्त्रालयको सङ्ख्याका विषयमा भने गठबन्धन आबद्ध दलहरूका बीचमा सहमति भइसकेको छ । सहमति अनुसार कांग्रेसले ७, माओवादी, जसपा र एकीकृत समाजवादीले ५ मन्त्री र एक राज्य मन्त्री पाउने छन् । तर कुन कुन मन्त्रालय कसले लिने भन्ने टुङ्गिएको छैन ।

कांग्रेस उच्च स्रोतका अनुसार कांग्रेसबाट दिलेन्द्र बडु, डा.मिनेन्द्र रिजाल, भीमसेनदास प्रधान र उमाकान्त चौधरी मध्ये एक जना र पुष्पा भुसाल मन्त्री बन्ने पक्का भएको छ । तर डा.रिजाल कि सुजाता कोइराला भन्ने विषयमा विवाद देखिएको छ । यस्तै सरकारमा हाल कानुन मन्त्री रहेका ज्ञानेन्द्रबहादुर कार्कीलाई भने स्वास्थ्य मन्त्रालयमा ल्याउने प्रधानमन्त्रीको तयारी छ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई भने राज्यमन्त्रीकै भूमिकामा राखिने बताइएको छ ।

माओवादी केन्द्रबाट अब तीन मन्त्री र एक राज्यमन्त्री बन्नेछन् । माओवादीबाट देवेन्द्र पौडेल, हरिबोल गजुरेल, सुदन किराँती, मातृका यादव, अमनलाल मोदी र शिवकुमार मण्डल मध्ये दुई जना र जयपुरी घर्ती, अञ्जना विशंखे र शशी श्रेष्ठ मध्ये एक जना मन्त्री बन्ने छन् । एक जना भने राज्यमन्त्री बन्ने सम्भावना छ । माओवादीकातर्फबाट यसअघि जनार्दन शर्मा र पम्फा भुसाल मन्त्री बनिसकेका छन् ।

माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीबाट पनि ५ मन्त्री र एक राज्यमन्त्री बन्नेछन् । सो दलबाट विरोध खतिवडा, मेटमणि चौधरी, शेरबहादुर कुँवर, रामकुमारी झाँक्री, भवानी खापुङ, किसान श्रेष्ठ, प्रेम आले र जीवनराम श्रेष्ठ मध्येबाट ६ जना सरकारमा सहभागी हुने पक्का छ । सो पार्टीबाट सरकारको नेतृत्व भने खतिवडाले गर्नेछन् ।

त्यस्तै जसपाले मन्त्री छनोटको जिम्मा सङ्घीय परिषद् अध्यक्ष बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव र नेता अशोक राईलाई दिएको छ । जसपाबाट सरकारको नेतृत्व राजेन्द्र श्रेष्ठले गर्ने पक्का जस्तै छ । यस्तै महेन्द्र राय यादव, प्रदीप यादव, मृगेन्द्र सिंह, प्रमोद साह र रेणु यादव मन्त्री हुने करिब निश्चितजस्तै छ ।

२९ असारमा प्रधानमन्त्री बनेका देउवाले आफ्नै दल कांग्रेस र माओवादीबाट सोही दिन दुई–दुई मन्त्री नियुक्त गरेका थिए । त्यसपछि उनले स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई १० साउनमा ल्याएका थिए । त्यसपछि केही दिनअघि मात्रै देउवाले आफ्नै दलबाट परराष्ट्र मन्त्रीमा डा. नारायण खड्कालाई सरकारमा सहभागी गराएका थिए ।

"