एमालेको विधान महाधिवेशन ओलीको प्रशंसामा गीत गाउने कुम्भमेला - रुपान्तरण
 २०८१ बैशाख १८, मंगलबार    

एमालेको विधान महाधिवेशन ओलीको प्रशंसामा गीत गाउने कुम्भमेला


काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का महासचिव डा. वेदुराम भुसालले सरकार गठनमा ढिलाई हुनुमा अझै मन्त्रालय बाँडफाँडमा सहमति हुनु प्रमुख कारण रहेको सुनाएका छन् । उनले भने,‘मन्त्रालय बाँडफाँड हुन बाँकी छ । मन्त्रालय टुँगो लाग्नेबित्तिकै दलहरुले मन्त्रीहरुको नाम दिन्छन् ।’

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै महासचिव भुसालले यस्तो बताएका हुन् । उनले भने,‘सरकार विस्तार छिट्टै हुन्छ । प्रधानमन्त्री शेरबहादुर देउवाले हाम्रो पार्टीका अध्यक्ष माधव नेपालसँग भेटेर सल्लाह गर्छु भन्नुभएको छ । अहिले हाम्रो अध्यक्ष विरामी भएर अस्पतालमा हुनुहुन्छ, भेटवार्तामा त्यो कुराले असर गरेको हो । प्रधानमन्त्रीको व्यस्तताको कारण सायद उहाँले भेटघाट गर्न भ्याउनुभएको छैन होला, तर अब छिट्टै सरकार विस्तार हुन्छ । सरकारले छिट्टै पूर्णता पाउनेछ । त्यसपछि सरकारले गर्नुपर्ने काम अघि बढ्नेछन् ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले सरकारले कहिलेसम्म पूर्णता पाउँछ भनेर ठ्याक्कै भविष्यवाणी गरेर भन्न नसकिने पनि बताए । उनले थपे–‘राजनीतिमा भविष्यवााण्ी गर्न सकिँदैन् । गरेपनि लागु हुँदैन् । तर, सरकारलाई पूर्णता दिने सवालमा हाम्रो पार्टीबाट बाधा छैन् । माधव नेपाल विरामी भएर प्रधानमन्त्रीसँग भेटवार्ता हुन नपाएको हो । सरकार विस्तारमा ढिलाई भएको छ, यो कुरा साँचो हो । मेरो विचारमा भोलिसम्म सरकार विस्तार हुनसक्छ ।’

भुसालले अहिले अर्ली ईलेक्शन गर्ने कुरा असम्भव रहेको पनि टिप्पणी गरे । उनले भने,‘अहिले अर्ली–ईलेक्शन गर्ने सम्भव कुरा होईन । प्रधानमन्त्रीले अहिले नै प्रतिनिधिसभा विघटन गर्न पाउनुहुन्न । उहाँले गर्नुभयो भने त्यो पनि असंवैधानिक हुन्छ । सर्वदलीय बैठकमा उहाँले यो कुरा हुँदैन भन्नुभएको छ । यो बाहिर चलाईएको हल्ला हो । अर्ली–ईलेक्शन, अहिले त्यो बाटो जाने स्थिति छैन् । जाने मनस्थिति भएको पनि मैले देख्दिन् ।’

त्यस्तै, उनले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले संसद् चल्न नदिनुलाई लोकतन्त्र र संविधानमाथिको हमला भएको टिप्पणी गरेका छन् । उनले भने,‘त्यो गतिवधिले एमाले नाँग्गिएको छ । सदन सुचारु गर्नेबारे हामी गठबन्धनको बैठक बसेर निर्णय लिन्छौं । तर, अहिले पहिलो कुरा सरकार गठन हो ।’ उनले एमालेले आगामी निर्वाचनमा एक्लैले बहुमत ल्याउँछु भन्नु हावादारी कल्पनामात्रै भएको पनि टिप्पणी गरे । उनले भने,‘यो त केपी ओलीले हिजो रेल, पानीजहाज ल्याउँछु भनेजस्तै हावादारी कल्पनामात्रै होे ।’

उनले एमालेको प्रथम विधान महाधिवेशनलाई अध्यक्ष केपी शर्मा ओलीको प्रशंसामा गीत गाउने कुम्भमेलाको संज्ञा दिए । उनले भने,‘सरकारमा रहँदा भ्रष्टाचार गरेर कमाएको करोडौं रकम पैसा खर्च गर्ने, र त्यहाँ मोजमजा गर्ने थलो बनाईएको छ । त्यहाँको तामझाम र गतिविधि हेर्दा, केपी ओलीको प्रशंसामा गीत गाउनेजस्तो कुम्भमेला अथवा भेला हो । त्यहाँ न विचार छ, न कुने दृष्टिकोण छ । नयाँ कुरा मैले केही पनि देख्दिन् । फरक विचार प्रस्तुत गर्नै पाईएन । घनश्याम भुषालले केन्द्रीय कमिटीमा फरक दस्तावेज पेश गरे, तर गोदावरीमा त्यो प्रस्तुत गर्न दिइएन ।’
उनले जनताको बहुदलीय जनवादलाई मार्गदर्शन मान्छु भन्ने एमालेमा अहिले प्रथम विधान महाधिवेशनमा फरक विचार पनि राख्न नदिईएको टिप्पणी गरे । उनले भने,‘विचारको विविधितालाई अगिंकार गर्ने काम भएन । ओलीको प्रतिवेदनमा न्यायालयमाथि विषवमन गरिएको छ । स्वतन्त्र न्यायालायमाथि धावा बोल्ने काम गरिएको छ । कानूनी राज्यको सिद्धान्त पालना गर्ने कुरा पनि एमालेमा छैन् । पार्टीलाई विधानअनुसार चलाउने कुरा पनि देखिँदैन् । अहिलेको भेला भन्नुहोस, वा मेला यो ओलीको प्रशंसामा गीत गाएर समाप्त हुन्छ ।’