सरकारले पूर्णता नपाएकोमा निधिको असन्तुष्टि - रुपान्तरण
 २०८१ बैशाख १८, मंगलबार    

सरकारले पूर्णता नपाएकोमा निधिको असन्तुष्टि


काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारले अझै पूर्णता नपाएकोमा असन्तुष्टि व्यक्त गरेका छन् । उपसभापति निधिले छिटोभन्दा छिटो मन्त्रिपरिषद्लाई पूर्णता दिन पनि प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता गठबन्धनका नेताहरुलाई दवाव दिए ।

गान्धी जयन्ती तथा अन्तराष्ट्रिय अहिंसा दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले ८१ दिन बित्दा समेत सरकारले पूर्णता नपाएकोमा दुःख समेत व्यक्त गरे ।

उनले सरकारले अझै पूर्णता नपाउनू सिंगो देशकै लागि चिन्ता र दुःखको विषय भएको स्मरण गराए । ‘८१ दिन भो गठबन्धनको तर्फबाट सरकार बनेको तर गठबन्धनबीच सहमति नभएका कारण पार्टीका सभापति शेरबहादुर देउवाको नेतृत्वमा रहेको सरकारले मन्त्रिमण्डललाई पूर्णता दिन सकेको छैन,’ उनल भने, ‘यो सारै चिन्ता र दुःखको विषय हो ।’

उपसभापति निधिलेगठबन्धलाई छिटो सरकारलाई पूर्णता दिन पनि आग्रह गरेका छन् । उनले सरकारले पूर्णता पाउन अझै नसकेबाट सत्तारुढ गठबन्धन चुनावसँग मिलेर अघि बढ्न सक्छ कि सक्दैन भन्ने प्रश्न उठेको टिप्पणी गरे । निधिले गान्धीको अहिंसाको बाटोबाट अघि बढेर मात्रै हरेक राष्ट्रले शान्ति र समृद्ध प्राप्त गर्न सक्ने बताए ।