एमाले सरकार ढाल्न जो-जो लागे ती सबै शत्रु - रुपान्तरण
 २०८१ बैशाख १८, मंगलबार    

एमाले सरकार ढाल्न जो-जो लागे ती सबै शत्रु

एमालेको पहिलो विधान महाधिवेशन सकियो


काठमाडौं । नेकपा एमालेको पहिलो विधान महाधिवेशनमा प्रस्तुत भएको राजनीतिक, संगठनात्मक र विधान संशोधन प्रस्ताव सुझावसहित पारित भएको छ । अब पार्टीको राष्ट्रिय महाधिवेशन बुटवलमा सम्पन्न गर्ने एमालेले निर्णय समेत गरेको छ ।

तीन दिनसम्म ललितपुरको गोदावरीमा चलेको एमालेको महाधिवेशनमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको संगठनात्मक प्रस्ताव र संगठन विभाग प्रमुख एवम् उपमहासचिव विष्णुप्रसाद पौडेलको विधान संशोधन प्रस्ताव सर्वसम्मत पारित भएका हुन् । राजनीतिक प्रतिवेदनमाथि अध्यक्ष ओलीले जवाफ दिएपछि पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले तीन वटै प्रस्ताव पारित गर्न हललाई आग्रह गरेका थिए । हलले सर्वसम्मत रुपमा ती प्रस्ताव पास गरेको हो ।

यसअघि बोल्दै अध्यक्ष ओलीले अताल्लिएर नयाँ पार्टीमा गएका एमालेका नेता कार्यकर्तालाई एमालेमै फर्किन आग्रह गरे । ओलीले नेकपा एकीकृत समाजवादीमा गएका सच्चा एमाले कार्यकर्तालाई पार्टीमा फर्कन आग्रह गरेका हुन् । उनले एमालेमा फर्किने वातावरण बनाउन स्थानीय तहदेखि नै पहल गर्न नेताहरुलाई निर्देशनसमेत दिएका छन् ।

अध्यक्ष ओलीले एमालेको सरकार ढाल्न सारा शक्ति लागेको आरोप लगाउँदै सरकार ढाल्न जो जो लागे ती सबै शत्रु भएको बताए । एमालेको सरकार उनले कुस्ती खेलाडीलाई विपक्षीले अलिअलि प्रहार गरेन भने जीतको रणनीति बनाउन गाहो हुने भन्दै अब एमालेले सशक्त रणनीति बनाउने पनि अठोट व्यक्त गरे । जितेर सरकारमा गएकाले फेरि पनि जितेरै सरकारमा जाने उनको दृढता छ ।

यसैबीच, एमालेमा एक व्यक्तिले दुईपटकभन्दा बढी कार्यकारी पदमा उम्मेदवार बन्न नपाइने व्यवस्था गरिएको छ । पहिलो विधान महाधिवेशनमा उठेको सवालहरूको जवाफ दिँदै उपमहासचिव विष्णु पौडेलले कुनै नेताले जिते पनि हारे पनि दुईपटकभन्दा बढी उमेदवार बन्न नपाइने व्यवस्था गरिएको बताए । उन एउटै कार्यकारी पदमा एकै व्यक्ति दुईपटकभन्दा बढी उमेदवार बन्न नपाइने व्यवस्था गरिएको पनि जानकारी दिए ।

यस्तै उमेरहदको सम्बन्धमा पनि ७० वर्ष कायम गरिएको छ । कुनै व्यक्ति ७० वर्ष नपुग्दासम्म पदमा लड्न र बसेर काम गर्न पाउने छन् । तर कार्यकालको बीचमा ७० वर्ष पुगे वा कटे उसलाई त्यो कार्यावधिभर काम गर्न पदमा बस्न पाउने व्यवस्था गरिएको पौडेलले बताए । यसबाट वर्तमान अध्यक्ष ओली यदि मंसिरमा फेरि अध्यक्ष बनेका खण्डमा उनले पूर्ण कार्यकाल काम गर्न पाउनेछन् । उनी फागुनमा ७० वर्ष पुग्दै छन् ।

अधिवेशनले वर्तमान सरकारले भूमिसम्बन्धी आयोग खारेज गरेकोमा निन्दा गर्दै भूमिहीनको पक्षमा निरन्तर संघर्ष गर्ने निर्णय पनि गरेको छ । त्यस्तै स्रोत नखुलेको सम्पत्तिलाई वैधानिकता दिनेगरी प्रतिस्थापन विधेयक ल्याइएको व्यवस्था सत्तास्वार्थ रहेको भन्दै गलत निर्णय सच्चाउन पनि माग गरेको छ । त्यस्तै एमालेले पार्टीको नयाँ लोगो र एप सार्वजनिक गरेको छ । एमालेको नयाँ लोगोको बीचमा सूर्य चिन्हको बीचमा हँसिया हथौडा छ ।