नेपाल र डा.भट्टराईबारेमा परेको मुद्दामा कात्तिक १५ गते फैसला - रुपान्तरण
 २०८१ बैशाख १८, मंगलबार    

नेपाल र डा.भट्टराईबारेमा परेको मुद्दामा कात्तिक १५ गते फैसला


काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र डा.बाबुराम भट्टराईलाई मुद्दा नचलाउने अख्तियार दुरुपयोग अनसुन्धान आयोगको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कात्तिक १५ गते फैसला सुनाउने भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश नहकुल सुवेदीको संयुक्त इजलासले निर्णय सुनाउने मिति तोकेको हो । नेता नेपाल र भट्टराई प्रधानमन्त्री भएका बेला मन्त्रिपरिषदले काठमाडौंको बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा सार्ने गरी निर्णय गरेको थियो । तर मन्त्रिपरिषदले गरेको निर्णय नीतिगत भन्दै अख्तियारले पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा चलाउन नमिल्ने भनेको थियो ।

ललिता निवास जग्गा प्रकरणमा तात्कालिन मन्त्री विजयकुमार गच्छदार, चन्द्रदेव जोशी, तत्कालिन सचिव दीप बस्न्यात, दिनेश अधिकारीसहित १ सय ७५ जनाविरुद्ध अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

तर पूर्वप्रधानमन्त्रीलाई भ्रष्टाचार मुद्दा नलगाउने अख्तियारको निर्णय कानुन विपरीत भन्दै वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । २०७६ माघमा नै सर्वोच्चमा दायर भएको रिट पटक पटक सुनुवाइ स्थगित हुँँदै आएको छ ।