एमाले सांसदहरुको एकोहोरो नाराको के अर्थ ? - रुपान्तरण
 २०८१ बैशाख १२, बुधबार    

एमाले सांसदहरुको एकोहोरो नाराको के अर्थ ?


काठमाडौं । नेकपा एमालेका सांसदहरुले निरन्तर संघीय संसद अवरुद्ध गरेपछि सत्ता पक्षधर सांसदहरुले आपत्ति जनाएका छन् । नेपाली कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडुले प्रमुख प्रतिपक्षी दलका सांसदहरूले संसद्मा विभिन्न विषय उठाएर नाराबाजी गरे पनि त्यसको जवाफ सुन्न नचाहेको बताएका छन् ।

मङ्गलवारको प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सांसद बडुले प्रमुख प्रतिपक्षी दलका सांसदहरूले नारामा विभिन्न विषयको उठान गरेको भएपनि त्यसको जवाफ सुन्न तयार नभएको बताएका हुन् ।

सभामुखले संसदीय परम्परा, मूल्यमान्यता र प्रतिनिधि सभा नियमावलीबारे बारम्बार सजग गराउँदा पनि प्रतिपक्षी सांसदहरू सुन्न तयार नभएको उनले बताए । संसद्मा उठेका कालो धन लगायतका विषयमा सम्बन्धित पक्षले जवाफ दिनका लागि पनि संसद् खोल्नुपर्ने उनले बताए ।

संसद् खुलेमा प्रतिपक्ष दलले उठाएको सबै विषयवस्तुको जवाफ पाउने उनको भनाई छ । उनले भने, ‘कालोधनको नारा दिनुहुन्छ, त्यसको जवाफ दिने कसले ? उहाँले एकोहोरो नारा त लगाइरहनुभएको छ । संसदीय परम्परा, मान्यता र हाम्रो प्रतिनिधि सभा नियमावलीले भनेका विषयहरु सभामुखले एकोहोरो सुनाइरहनुभएको छ, तर उहाँहरु त्यसलाई सुन्न तयार हुनुहुन्न । सम्बन्धित पक्षले जवाफ दिन्थ्यो होला हाउसमा, हाउस चल्न दिएको भए । जे जे नारा दिनुभएको छ पर्याप्त छ । अब त्यसको जवाफ सुन्नलाई हाउस चल्न दिनुपर्छ अनि मात्र उहाँहरूको एकोहोरो नाराको अर्थ हुन्छ ।’

उनले नेपाली कांग्रेसको स्थानीय तहको अधिवेशनले पार्टीलाई अझ सक्रिय र अनुशासित रूपमा अगाडी बढाउन आम धारणा बनेको बताए । चुनावी परिणाम विभिन्न समूहको मिश्रित रूपमा आएको भन्दै उनले यसले पार्टीलाई समूहगत रूपमा पनि सन्तुलित राख्ने बताए ।

उनले भने, ‘रिजल्ट सबै समूहको आइराखेको छ । एकमात्रको आइराखेको छैन । त्यसकारणले समूहगत रूपमा पनि सन्तुलित रहन्छ । राम्रो अभ्यास भएको छ । प्रजातान्त्रिक अभ्यास सुरु भयो यो राम्रो कुरा हो । यसले पार्टीलाई अझ बढी सक्रिय बनाउँछ र जनताको तहसम्म पार्टी सक्रिय हुन्छ । अब एउटा प्रशिक्षित, शिक्षित र अनुशासित पार्टीको रूपमा अगाडी बढाउनुपर्छ भन्ने आम धारणा तल्लो तहबाट आएको छ । यो चुनावमा त्यो देखिएको छ । यो सकारात्मक कुरा हो । यसले पार्टीलाई अझ सशक्त, सक्रिय र जनताको माझमा जानका लागि प्रेरित गर्छ ।’


त्यस्तै सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदैँ नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले प्रतिपक्षले उठाएको विषय सर्वोच्च अदालतमा विचाराधीन मुद्दा भएकाले संसद्मा त्यसलाई विषय बनाउन नसकिने बताए । सर्वदलीय बैठक बसेर संसद्को गतिरोधलाई निकास दिनुपर्ने उनले बताए ।

उनले भने, ‘उहाँहरूले जुन इस्यु उठाइराख्नु भएको छ त्यो उठाउनु कुनै आवश्यक नै छैन । त्यसले एउटा निकास पाइसकेको अवस्था छ । अब सेफल्याण्डिङ कसरी गर्ने भन्ने उहाँहरु पनि बाटो खोजिराख्नु भएको छ । अब सर्वदलीय बसेर यसलाई निकास दिनुपर्छ ।’ सांसद कँडेलले संसद्लाई अनिर्णयको बन्दी बनाउँदा मुलुकको हित नहुने बताउनुभयो । प्रतिपक्ष दलले छलफलको माध्यमबाट निकास दिनुपर्ने उनले बताए ।