काठमाडौं । सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङसहित १२ जनालाई पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । सिभिल सहकारीको ७० करोड रकम निक्षेप ठगी गरेको आरोपमा पक्राउ परेका उनीहरूलाई पहिलो चरणको अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौंले पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरोलाई अनुमति दिएको हो ।
उनीहरूलाई संगठित रूपमा ठगी गरेको आरोप छ । १ सय ३७ जनाले जाहेरी दिइसकेको र अन्य मानिसहरू पनि जाहेरी दिन आइरहेको प्रहरीको भनाइ छ । ठगी मुद्दामा प्रहरीले २५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न पाउँछ । अनुसन्धान प्रतिवेदन बुझाएपछि सरकारी वकिलको कार्यालयले मुद्दा अदालतमा दर्ता गर्छ ।
तामाङ सिभिल सहकारीका पूर्वअध्यक्ष हुन् । सहकारीका हालका अध्यक्ष केशवलाल श्रेष्ठ छन् । उनी पनि पक्राउ परेका छन् । सहकारीको बचतको ठूलो हिस्सा तामाङले अन्य आफ्ना कम्पनीहरूमा लगानी गर्दै आएका थिए । उनले करिब ९ अर्ब रुपैयाँ सहकारीको निक्षेप ऋण विभिन्न कम्पनीका नाममा लिएका छन् ।
पक्राउ पर्नेहरूमा सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्थाका तत्कालीन अध्यक्ष तामाङ, वर्तमान अध्यक्ष श्रेष्ठ र प्रबन्धक भगवान् बहादुर सिंह छन् । यसैगरी जुनियर असिसटेन्ट मेनेजर मायोनानी महर्जन, जुनियर असिसटेन्ट मेनेजर एलिना तुलाधर, जुनियर अधिकृत शङ्कर प्रसाद पाठक, असिसटेन्ट सङ्गीत श्रेष्ठ, लेखा अधिकृत राकेश महर्जन, बुद्धराज तामाङ, कौस्तुभ केतन ढुङ्गाना, विजय विक्रम शाह र पूर्व लेखा समिति सदस्य हरिहर लामिछाने पक्राउ परेका छन्। सीआइबीले ठगीमा अन्य व्यक्तिहरूसमेत तानिन सक्ने र त्यसतर्फ समेत अनुसन्धान जारी रहेको जनाएको छ।