कांग्रेस महाधिवेशन: पालिकाहरुमा कुन समूह अगाडि ? - रुपान्तरण
 २०८१ बैशाख ८, शनिबार    

कांग्रेस महाधिवेशन: पालिकाहरुमा कुन समूह अगाडि ?


काठमाडौं । नेपाली कांग्रेसको विभिन्न जिल्लामा भएका पालिका अधिवेशनबाट आएको नतिजाप्रति नेताहरुले फरक फरक दाबी गरेका छन् ।सभापति शेर बहादुर देउवा, बरिष्ठ नेता नेता रामचन्द्र पौडेल, कृष्ण सिटौंलालगायतका नेताहरुले पालिकामा विजयी भएका सभापतिहरुलाई आ–आफ्नो भएको दाबी गरिरहेका छन् । अधिवेशन सम्पन्न भएका पालिका र नगरको परिणाम अनुसार प्रारम्भमा देउवा पक्ष बहुमत देखिएको छ ।

मंगलबार साँझसम्म परिणाम आएका ६ सय ५ वटा पालिका मध्य २ सय ५० वटामा देउवा पक्षीय नेताहरु पालिकाको सभापतिमा निर्वाचित भएका छन् । त्यस्तै नेता रामचन्द्र पौडेल, कोइराला, प्रकाशमान सिंह लगायत पक्षका भने १ सय ८० जना मात्रै सभापतिमा निर्वाचित भएका छन् । सम्पन्न पालिका अधिवेशनमा नेता कृष्णप्रसाद सिटौला पक्षका १६ जना, विजय गच्छदार पक्षका दुई जना र विमलेन्द्र निधि पक्षका दुई जना निर्वाचित भएका छन् । त्यस्तैगरी कुन पक्ष हो भन्ने नखुलेका ४९ जना छन् ।

प्रदेश १ को १ सय ३६ पालिकामा भएको निर्वाचनमा देउवा पक्षले ६० स्थानमा सभापति जितेको छ भने पौडेल÷कोइराला पक्षले ४९ स्थानमा मात्रै सभापति जित्न सफल भएको छ । त्यस्तैगरी प्रदेश १ मा सिटौला पक्षका १३ जना पालिका सभापतिमा निर्वाचित भएका छन् ।

बागमति प्रदेशमा सम्पन्न ९९ वटा पालिका अधिवेशनमा देउवा पक्षले ५३ स्थानमा सभापति जितेको छ । त्यस्तै कोइराला र पौडेल पक्षले भने बागमतिमा ३३ स्थानमा मात्रै सभापति जितेको छ । कतिपय भने कुनै पनि गुटमा खुलेका छैनन् ।

त्यस्तै गण्डकी प्रदेशको सम्पन्न ८५ पालिकामा देउवा पक्षले ३९ स्थानमा जितेको छ । पौडेलको गृह प्रदेश गण्डकीमा उनी र कोइराला पक्षका २७ जनाले मात्रै पालिको सभापतिमा जित हासिल गरेका छन् ।

लुम्बिनी प्रदेशमा सम्पन्न ८८ पालिका अधिवेशनमा पनि देउवा पक्ष अगाडी देखिएको छ । लुम्बिनीमा देउवा पक्ष ३५ स्थानमा सभापति जित्न सफल भएकोछ । लुम्बिनीमा पौडेल र कोइराला पक्षका भने २९ जनाले मात्रै सभापति जितेका छन् । कतिपय भने कुन पक्षको भन्ने खुलेका छैनन् ।

कर्णालीमा अधिवेशन सम्पन्न भएका ६२ पालिका मध्य देउवा पक्षले ३६ स्थानमा जितेको छ । त्यस्तै कोइराला र देउवा पक्षले भने २६ स्थानमा पालिका सभापतिमा जितेको छ । कर्णालीमा पनि कपितय निर्वाचित सभापतिहरु कुन पक्षमा हो भन्ने प्रष्ट खुलेका छैनन् । सुदूरपश्चि प्रदेशका सम्पन्न १९ पालिका अधिवेशनमा देउवा पक्ष १७ स्थानमा विजयी भएको छ । त्यहाँ कोइराला र पौडेल पक्षले भने बझाङको १ ठाउँमा मात्रै जितेको छ ।  सुदूरपश्चिममा अधिकांश क्षेत्रमा पालिका अधिवेशन हुन बाँकी छ ।