एमाले कम्युनिष्ट आन्दोलन र आदर्शबाट च्युत भइसक्यो - रुपान्तरण
 २०८१ बैशाख ७, शुक्रबार    

एमाले कम्युनिष्ट आन्दोलन र आदर्शबाट च्युत भइसक्यो


काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले सबै हिसाबले पतनको दिशामा गएको बताएका छन् । एमालेका नेता केपी शर्मा ओली सबै हिसाबले कम्युनिष्ट आन्दोलन र आदर्शबाट च्युत भइसकेको आरोप पनि लगाए ।

बिहीबार पार्टी काठमाडौंको अर्पण बैंक्वेटमा नेकपा एमाले नेता भानुभक्त जोशीलाई पार्टीमा प्रवेश गराउँदै अध्यक्ष नेपालले नेकपा एमालेका नेता ओली सबै हिसाबले कम्युनिष्ट आन्दोलन र आदर्शबाट च्युत भइसकेको आरोप लगाएका हुन् ।

उनले नेकपा एमालेमै रहनका लागि अन्तिमसम्म प्रयास गर्दा र पछिल्लो समय राष्ट्रिय विधान महाधिवेशनमा भएको गतिविधि र सिद्धान्तका कारण जोशीले नयाँ क्रान्तिकारी रोजेको बताए । उनले नेता जोशीलाई नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी सदस्यमा लैजाने समेत घोषणा गरे । उनले एमाले सबै हिसाबले पतनको दिशामा गएको बताउँदै नेकपा एमाले सामूहिक नभएर एक व्यक्तिको पार्टी जस्तो भएको बताए ।

अध्यक्ष नेपालले भने, ‘परित्याग गरेर आएको पार्टी नेकपा एमाले सबै हिसाबले पतनको दिशामा गएको ब्यहोरा पनि हामीले भर्खरै सुन्यौं,अन्तिमसम्म प्रयत्न गर्दा पनि त्यो पार्टीलाई ठिक ठाउँमा ल्याउन नसकिने भयो भन्ने निष्कर्षमा पुगेर र पछिल्लो कालको तमासा विधान महाधिवेशनको नाममा भेला गरिएका मानिसहरूको जमात त्यहाँ अघि सारिएका मान्यताहरू सबै चिजहरू देखेर भानुभक्त जोशी पार्टी परित्याग गरेर एकीकृतमा प्रवेश गर्नुभयो, नयाँ यात्रामा प्रवेश गर्नुभएको छ, यसमा सबैभन्दा पहिलो अवरोध केपी ओली गुटले सिर्जना गर्नेछन्, केपी ओली सबै हिसाबले कम्युनिष्ट आन्दोलन र आदर्शबाट च्युत भइसकेका छन्, च्युत भइसकेको अब औपचारिक रूपमा दिन हेर्न मात्रै बाँकी छ, त्यहाँ कुनै सामूहिक छलफल छैन, त्यो एउटा व्यक्तिको प्रालिको रूपमा रूपान्तरित हुन थालेको छ ।’

नेता नेपालले जोशीलाई पार्टीको स्थायी कमिटी सदस्यमा ल्याउने घोषणा पनि गरे । कार्यक्रममा नेकपा एमालेबाट नेकपा (एकीकृत समाजवादी) पार्टीमा मा प्रवेश गरेका नेता भानुभक्त जोशीले १० बुँदे सहमति तथा अन्तर पार्टी निर्देशन १२ का निर्णयसमेत कार्यान्वयन नभएकोले पार्टी परिवर्तन गरेको बताए ।

उनले पछिल्लो समय पार्टीमा फेरि आग्रह पूर्वाग्रह यथावत रहेको पाइएको भन्दै नेकपा एकीकृत प्रवेश गरेको बताए । नेता जोशीले एमालेको नीति र सिद्धान्त उचित नभएकोले एमालेको केन्द्रिय कमिटीबाट राजीनामा दिएको स्पष्ट पारे ।

नेता जोशीले भने, ‘१० बुँदे सहमति तथा अन्तर पार्टी निर्देशन १२ का निर्णयसमेत कार्यान्वयन नगरिंदा,आम नेता कार्यकर्ताको मन भाँचिएको छ,पार्टी एकताका लागि कोशे ढुङ्गाको रूपमा रहेको १० बुँदे सहमति नगरिंदा र पार्टीमा फेरि आग्रह पूर्वाग्रहको यथावत् रहेको महसुस भएकोले राजीनामा दिई एकीकृत समाजवादीमा प्रवेश गरेको हुँ, म इमानदारीपूर्वक र क्षमताले भ्याएसम्म आजकै दिनबाट पार्टीको काममा लाग्नेछु ।’ नेकपा एमालेबाट नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका नेता जोशीलाई पार्टीका अध्यक्ष माधव कुमार नेपालले स्वागत गरेका छन् ।