मन्त्रीलाई नेता नेपालको निर्देशन: 'रक्सी खाने बानी छ भने त्याग्नुहोस' - रुपान्तरण
 २०८० चैत्र १६, शुक्रबार    

मन्त्रीलाई नेता नेपालको निर्देशन: 'रक्सी खाने बानी छ भने त्याग्नुहोस'


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीबाट मन्त्री बनेकाहरुलाई निजी स्वार्थ, अनियमितता र भ्रष्टाचारमा नडुब्न भनेका छन् । पार्टीबाट नियुक्त मन्त्रीहरुलाई आइतबार पार्टी केन्द्रीय कार्यालमा बोलाएर उनले यसरी आग्रह गरेका हुन् ।

गठबन्धनको भावना अनुसार अन्य राजनीतिक दलसँग समन्वयमा काम गर्न पनि नेपालले निर्देशन दिए । सल्लाहकार, निजी सचिवलगायतका राजनीतिक नियुक्ती गर्दा पार्टीसँग सल्लाह गरेरमात्र गर्न उनले निर्देशन दिए । कुनै पनि संस्थामा व्यक्तिको छनौट गर्दा व्यक्तिको योग्यता, क्षमता र कार्यसम्पादनमा गरेको उत्कृष्टताको आधारमा गर्न पनि उनले सुझाव दिए ।

अध्यक्ष नेपालले मन्त्रिपरिषद् बैठकमा आउने विभिन्न विषयवस्तुहरुमाथि अगाडी नै सामुहिक छलफल गर्न सुझाव पनि दिए । सिङ्गो मन्त्रिपरिषद्ले गर्ने निर्णयको जस अपजसको भागिदार सबै मन्त्री हुने उल्लेख गर्दै उनले मन्त्रिपरिषद्का विषयवस्तुहरू पार्टीलाई समेत जानकारी गराई, पार्टीको मार्गदर्शन लिएर प्रस्तुत हुनुपर्ने उनको भनाइ थियो ।

अध्यक्ष नेपालले मन्त्रीहरूबाट विवादमा आउने र बदनामी कमाउने कुनै पनि काम हुनु नहुनेमा जोड दिए । पदीय मर्यादा र गरिमा विपरीतका काम नगर्न उनले निर्देशन दिए । कुनै पनि प्रकारका दूर्व्यसन र आचरणसँग जोडिने काम नगर्न उनले निर्देशन दिए ।

बदनामी कमाउने र विवादमा पर्ने कुनै पनि कामहरू नगर्न साथै स्वच्छ र सादा जीवन, असल आचरण र संस्कारको अवलम्बन गर्न उनको आग्रह थियो । ‘यो मन्त्रीहरू रक्सी खाएर मात्तिए, बेलका बेलका फाइभस्टार होटेलमा गएर रक्सी खाइरहेका छन् र आफ्नो क्लाइन्टहरुसँग बसेर यिनै कुरा गरिरहेका छन् भन्ने कुरा सुन्नु नपरोस् । सिधा कुरा, रक्सी खाने बानी छ भने पनि बानी त्याग्नुस् । अरू आचरण, महिलासँग जोडिएका त्यस्ता कुनै कुराहरू सुन्नु नपरोस् । त्यस्ता व्यवहारहरू तपाइँहरूबाट नहोस’, नेपालको सुझाव थियो ।