हिमाल, पहाड र तराईका साथीहरुले सभापतिमा मलाई हेर्न चाहनुभएको छ - रुपान्तरण
 २०८१ बैशाख १४, शुक्रबार    

हिमाल, पहाड र तराईका साथीहरुले सभापतिमा मलाई हेर्न चाहनुभएको छ


काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापतिको उम्मेदवारी दिने तयारीमा रहेका कांग्रेस उपसभापति विमलेन्द्र निधि देश दौडाहामा छन् । सभापतिमा आफ्नो उम्मेदवारीबारे धारणा राखिरेका छन् । काठमाडौंको थापागाउँमा भब्य सम्पर्क कार्यालय खोलेर सभापतिको रेसमा रहेका निधिले धनुषामा पुगेर आफ्नो उम्मेदवारीका बारेमा प्रष्टिकरण दिएका छन् ।

निधिले हिमाल, पहाड र तराइवासीबीचको भावनात्मक सम्बन्ध जोड्न नेपाली काँग्रेसको आसन्न १४ औं महाधिवेशनमा सभापति पदमा उम्मेदारी दिने पुनः दोहोर्याएका हुन् । धनुषा निर्वाचन २ मा आयोजित विजयादशमीको उपलक्ष्यमा आयोजित शुभकामना आदान प्रदान तथा कार्यकर्ता भेलामा उपसभापति निधीले हिमाल र पहाडका साथीहरु नेपाली कांग्रेसको सभापतिमा मलाई हेर्न चाहनुभएको छ उनको भनाइ थियो ।

नेता निधीले भने,‘केन्द्रीय सभापतिका लागि उम्मेदवारी दिँदैछु । निर्वाचन क्षेत्रबाट समर्थनका लागि सबैसँग अनुरोध गर्न आएको छुँ, सभापति बनेर देश र जनताको सेवा गर्ने इच्छा छ, तपाईहरुको समर्थन चाहेको छु ।’ महाधिवेशनमा पार्टी सभापतिका लागि आफूलाई सहयोग गर्न शेरबहादुर देउवासँग आग्रह गरेको र सभापति देउवाले आफूलाई सहयोग गर्ने वचन १३ औं महाधिवेशनकै बेला दिनुभएको उनले बताए ।

सभापति देउवासँगको कुराकानीबारे उपसभापति निधिले कार्यकर्ताहरूलाई सुनाउँदै भने, ‘सबै नेताहरूकाबीच यो मेरो अन्तिम पटक हो, अब तपाईं नै हो भन्नुभएको छ । त्यसैले यसपाली सभापति देउवाले मलाई सहयोग गर्नुहुन्छ ।’ उपसभापति निधीले अबको पाँच वर्षपछि पार्टीको नेतृत्व युवापुस्ताले गर्ने दावी गरे ।

निधिले निर्वाचन प्रणाली गुटगत राजनीतिलाई समाप्त गर्ने उपयुक्त पद्धति भएको पनि बताए । आसन्न महाधिवेशनमा कांग्रेस सभापतिमा एउटा गुटले विजयी हासिल गर्न रहेको हुनाले त्यस्तो गुटको राजनीति तोड्नको लागि आफूले सभापतिमा उम्मेदवारी दिएको बताए ।

विभिन्न जिल्लाका सभापति र पार्टीका नेताहरूसंग सम्पर्कमा बढाइरहेको उनले बताए । उनले भने, प्रकाशमान सिंह र डा.शशांक कोइरालासंग कुराकानी भइरहेको छ । सभापति शेरबहादुर देउवालाई धेरै पहिलादेखि नै सभापतिमा मेरो लागि समर्थन गरिदिनुहोस भन्दै आइरहेको छु । सबै सकरात्मक हुनुहुन्छ ।’कांग्रेसका केन्द्रीय सदस्यदेखि मेयर, गाउँपालिका अध्यक्ष र वडा अध्यक्षसम्मको अपेक्षा भनेको विमलेन्द्र निधिलाई सभापतिमा जिताउने भन्ने नै रहेको उनले बताए ।