मंसिरभित्रै महाधिवेशन गर्ने मुडमा देउवा - रुपान्तरण
 २०८१ बैशाख २१, शुक्रबार    

मंसिरभित्रै महाधिवेशन गर्ने मुडमा देउवा


काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मंसिरभित्र सम्पन्न हुनेगरी १४औं महाधिवेशनको कार्यतालिका बनाउन पार्टीको निर्वाचन समितिलाई निर्देशन दिएका छन् ।

मंगलबार सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा पार्टीका पदाधिकारी, पूर्व पदाधिकारी र निर्वाचन समितिका सदस्यहरूबीचको छलफलमा बोल्दै सभापति देउवाले निर्वाचन समितिलाई मंसिरभित्र पार्टीको महाधिवेशन गरिसक्ने गरि कार्यतालिका बनाउने सम्पूर्ण अधिकार रहेको उल्लेख गर्दै सोही अनुसारको कार्यतालिका बनाउन सचेत गराए ।

पार्टी सभापतिले मंसिरभित्र पार्टीको महाधिवेशन सम्पन्न हुने गरी निर्वाचन कार्यतालिका बनाउन निर्वाचन समितिलाई निर्देशन दिनुभएको पार्टीका सहमहामन्त्री डा.प्रकाशशरण महतले जानकारी दिए ।

यता, वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले भने महाधिवेशन मंसिरभित्र सम्पन्न हुने गरी औपचारिक निर्णय गराउन तत्काल पार्टी केन्द्रीय कार्यसमितिको बैठक बोलाउन सभापति देउवासँग माग गरेको छ ।

महाधिवेशनको कार्यतालिकामा हुने सानोतिनो हेरफेर र महाधिवेशनको अन्य तयारीको लागि पनि तत्काल केन्द्रीय कार्य समितिको बैठक बोलाउन आफूले माग गरेको वरिष्ठ नेता पौडेलले बताए ।

नेपाली कांग्रेसले १४ औं महाधिवेशन आगामी मंसिर ९ देखि १२ गतेसम्म काठमाडौंमा गर्ने तय गरिएको थियो । तर, तल्लो तहको अधिवेशन गर्ने काममा ढिलाई भएपछि सभापति देउवाले मंसिरभित्र गरिसक्ने गरी निर्वाचन कार्यतालिका तय गर्न पार्टीको निर्वाचन समितिलाई निर्देशन दिएका थिए ।