ओलीको दाबी: आगामी निर्वाचनबाट जनादेश एमालेको पोल्टामा - रुपान्तरण
 २०८१ बैशाख २१, शुक्रबार    

ओलीको दाबी: आगामी निर्वाचनबाट जनादेश एमालेको पोल्टामा


काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेले जनादेश प्राप्त गर्ने बताएका छन् । मङ्गलवार पालिकास्तरका अधिवेशनको भर्चुअल माध्यमबाट उद्घाटन गर्दै ओलीले यस्तो बताएका हुन् ।

एमाले बहुदलीय प्रतिस्पर्धाबाट हरेश नखाने र आगामी निर्वाचनबाट जनादेश प्राप्त गर्ने उनले विश्वास व्यक्त गरे । पार्टीको केन्द्रीय कार्यालयको वार रुमबाट सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, “मुलुकका जनताले लडेर ल्याएको लोकतन्त्र र संविधान तथा राष्ट्रियताको रक्षाका लागि एमाले विजयी हुनुको विकल्प छैन । जनादेश हाम्रो पक्षमा आउने आत्मविश्वासका लागि देशभर पार्टीका काममा क्रियाशील हुन म आह्वान गर्दछु ।”

मुलुकमा अब हुने तिनै तहको निर्वाचनको तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिए। ओलीले मिति तय नभए पनि अब मुलुक निर्वाचनतर्फ अग्रसर भएकाले त्यसको तयारीमा लाग्न आग्रह गरेका हुन्।

ओलीले सर्वोच्च अदालतको मानमर्दन भइरहेको पनि बताए । उनले लोकतन्त्र र लोकतान्त्रिक प्रणालीको रक्षाका लागि पनि न्यायालय मर्यादित र सम्मानित बनाइरहनुपर्ने बताए ।

सर्वोच्च न्यायलय नै विवादित बनिरहँदा जनताले न्याय पाउने विषय निराशाजनक बन्ने तर्क उनको छ । उनले विगतमा अदालतको फैसला संविधान विपरीत भएको भए पनि सर्वोच्चको फैसला मान्नुपर्ने धारणाा अनुरुप एमाले अघि बढेको बताए । यससँगै एमालेलाई कमजोर बनाउन विभिन्न व्यक्ति र तत्वहरु सक्रिय भएका कारण पार्टी चोइटिने अवस्थामा पुगेको पनि उनले बताए ।

एमालेले यही कात्तिक ६ गते सबै वडा स्तरमा अधिवेशन गरेको थियो भने मङ्गलवार नगरपालिका र गाउँपलिकास्तरका अधिवेशनको मिति तय गरेको हो । सो पार्टीको दशौँ राष्ट्रिय महाधिवेशन आगामी मङ्सिर १० देखि १२ गतेसम्म बाग्मती प्रदेशको चितवनमा हुँदैछ । एमाले विधान अनुसार गाउँपालिका र नगरपालिका बढीमा ७५ सदस्यीय कमिटी गठन गरिने व्यवस्था छ । यसैगरी, उपमहानगरपालिकामा ८५ र महानगरमा १०१ सदस्यीय पार्टी कमिटी गठन हुने व्यवस्था छ ।