बागमतीमा अष्टलक्ष्मीको राजीनामा, नयाँ मुख्यमन्त्रीमा राजेन्द्रको दाबी - रुपान्तरण
 २०८१ बैशाख २१, शुक्रबार    

बागमतीमा अष्टलक्ष्मीको राजीनामा, नयाँ मुख्यमन्त्रीमा राजेन्द्रको दाबी


काठमाडौं । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएकी छन्। बुधबार प्रदेश सभा बैठकमा सम्बोधन गर्दै मुख्यमन्त्री शाक्यले राजीनामा दिएकी हुन्। योसँगै बागमती प्रदेशमा नेकपा एमालेको सरकार ढलेको छ।

उनले आफ्नो छोटो कार्यकालमा गरेका कामको बारेमासमेत सम्बोधनका क्रममा ब्याख्या गरेकी छन्। सो क्रममा आफूलाइ सहयोग गर्ने सबैलाई उनले धन्यवाद दिएकी छन्। शाक्यले प्रदेशसभामा ४ कार्तिकमा राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा बुधबार मत विभाजन हुने कार्यसूची थियो । तर मतदान प्रक्रियामा नगइ उनले राजीनामा दिएकी हुन्।

विपक्षी गठबन्धनमा बहुमत भएसँगै एमाले सरकार बागमती प्रदेशमा ढलेको हो। शाक्यको राजीनामासँगै बागमती प्रदेशमा बाँकी रहेको कार्यकाल पहिलो आधा समय नेकपा एकीकृत समाजवादी र त्यसपछि नेपाली कांग्रेसले सम्हाल्ने सहमति भएको छ।

शाक्यको राजीनामा आए पहिलो कार्यकालका लागि नेकपा एकिकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्नेछन्। नयाँ मुख्यमन्त्रीका लागि पाण्डेले दाबी पेस पनि गरिसकेका छन् । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष मुख्यमन्त्री पदका प्रत्यासी पाण्डेले ५९ जना प्रदेशसभाका सदस्यको हस्ताक्षरसहित दाबी पत्र बुधवारै साँझ बुझाएका हुन् ।

पाण्डेको समर्थनमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने चार वटा राजनीति दलले समर्थनसहित हस्ताक्षर गरी दाबी पत्र बुझाइएको प्रदेश प्रमुख सचिवालयले जनाएको छ । प्रदेश प्रमुख शर्माले नेपालको संविधानको धारा १६९ को उपचार एकको खण्ड (क) बमोजिम नयाँ सरकार गठन गर्न कात्तिक ११ गते अपराह्न ३ बजेसम्म समय सीमा निर्धारण गरेअनुसार मुख्यमन्त्री पदका लागि प्रत्याशी पाण्डेले बुधवारै दाबी पत्र दर्ता गराएका थिए ।

बागमती प्रदेशसभामा हाल एमालेका ४३ सांसद छन्। विपक्षी गठबन्धनमा माओवादी केन्द्रका २३, नेपाली कांग्रेसका २२, नेकपा एसका १३ र जनता समाजवादी पार्टीका १ सांसद छन्।

गठबन्धन बाहेकका विवेकशील साझा पार्टीका ३, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का २ तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का २ जना सांसद छन्। शाक्य मुख्यमन्त्री भएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने भए पनि त्यो समय भने दशैं अगाडि नै गुज्रिसकेको थियो।