काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा विवादमा मुछिएका छन् । न्यायाधीशहरूले राणाको राजीनामा मागिरहेका छन् र इजलास बहिष्कार गरिरहेका छन् । तर बुधबार राणाले आफ्नो अडान नत्यागी ११ वटा इजलास तोकेका छन् । उनले आफ्नै एकल इजलासमा सुनुवाइ समेत गरेका छन् ।
प्रधानन्यायाधीश राणाले आफ्नो एकल इजलास र संवैधानिक इजलास सहित ११ वटा इजलास तोकिएकोमा ५ वटा मुद्दाको सुनुवाइ गर्दै दुई वटा रिटमा कारण देखाउ आदेश, एउटामा कैफियत प्रतिवेदन झिकाउने र एउटालाई तामेलीमा राख्ने आदेश दिएका छन् ।
यस्तै राणाको एकल इजलासले एउटा रिट निवेदन फिर्ता गर्ने आदेश पनि गरेको छ । उनको राजीनामा माग गर्दै न्यायाधीशहरूले अघोषित रूपमा इजलास बहिष्कार गरेका कारण राणा संकटमा परेका थिए । न्यायाधीशहरूको अघोषित बहिष्कारका कारण दुई दिनदेखि सर्वोच्च अदालतमा मुद्दा सुनवाइ नभएको अवस्थामा उनले इजलास बसेर सांकेतिक रूपमा अदालत बन्द नभएको भन्ने सन्देश दिएका छन् ।
इजलास चलिरहँदा सर्वोच्च्च अदालतका अरु न्यायाधीश भने बुधबार पनि आन्तरिक छलफलमा नै व्यस्त थिए । सर्वोच्च अदालतका १४ जना न्यायाधीशहरूको बैठकले प्रधानन्यायाधीश राणाले राजीनामा दिनुको विकल्प नभएको निष्कर्ष निकालेको छ । न्यायाधीशहरूको बैठकले प्रधानन्यायाधीश राणाको राजीनामा नै अडिग रहने निष्कर्ष निकालेको छ ।
बुधबार नै सर्वोच्चका पूर्वन्यायाधीश शारदाप्रसाद पण्डितको निधनमा शोक प्रस्ताव पारित गर्न पूर्ण बैठक (फुलकोर्ट)पनि बसेको छ । पूर्वन्यायाधीश पण्डितको बुधबार बिहान निधन भएको थियो । यसअघि १४ न्यायाधीशहरूले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासँग फुलकोर्ट बैठक बस्न अस्वीकार गरेका थिए ।