कांग्रेसको १४औं महाधिवेशनको मिति फेरि सर्यो - रुपान्तरण
 २०८१ बैशाख २१, शुक्रबार    

कांग्रेसको १४औं महाधिवेशनको मिति फेरि सर्यो


काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले कांग्रेसको १४ औं महाधिवेशनको मिति फेरि सरेको छ । निर्वाचन समितिले २७ मंसिरबाट शुरु गर्ने गरी नयाँ कार्यतालिका बनाएको छ। समितिको बुधबार बसेको बैठकले २७ देखि २९ मंसिरसम्म महाधिवेशन गर्ने गरी नयाँ कार्यतालिका बनाएको छ ।

प्रदेश अधिवेशन भने १६ र १७ मंसिरका लागि प्रस्ताव गरिएको छ। यसैगरी वडा अधिवेशन गर्न बाँकी १३ जिल्लामा २७ कार्तिकबाट वडा अधिवेशन शुरु गर्ने गरी मिति प्रस्ताव गरिएको छ ।

कांग्रेसले हालसम्म ७७ जिल्ला मध्ये ६४ जिल्लामा मात्रै वडा अधिवेशन सम्पन्न गरेको छ। प्रदेश नम्बर २ का ८ जिल्लासहित डोल्पा, सुर्खेत, कैलाली, बाँके र रसुवामा वडा अधिवेशन भएका छैनन्। तीमध्ये रसुवा र रौतहटको क्रियाशील सदस्यतासमेत टुंगो लाग्न बाँकी छ।

कांग्रेसले गत ३० साउनमा ल्याएको कार्यतालिका अनुसार ९ देखि १३ मंसिरसम्म १४औं महाधिवेशन तोकेको थियो । पछिल्लो पटक निर्धारित कार्यतालिका अनुसार कांग्रेसको वडा अधिवेशन १८ भदौ, गाउँ(नगर अधिवेशन २७ भदौ, प्रदेशसभा क्षेत्रीय अधिवेशन १ असोज, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन ५ असोजमा हुने उल्लेख थियो।

यसैगरी एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन १० असोज, प्रदेश अधिवेशन १० कात्तिकदेखि १२ गतेसम्म प्रस्तावित थियो।
निर्वाचन समितिले केही हिमाली जिल्लामा भने जिल्ला अधिवेशनसमेत सकाएको छ। कांग्रेसले २१ हिमाली जिल्लामा भने कार्यतालिकालाई नघाएर भए पनि जिल्ला अधिवेशन शुरु गरेको थियो। २१ हिमाली जिल्लामा दशैंअघि नै जिल्ला अधिवेशन गर्ने भनिए पनि १३ जिल्लामा मात्रै सकिएको छ।