कार्तिक २८ गतेको बैठकपछि कांग्रेस महाधिवेशनमा होमिने - रुपान्तरण
 २०८१ जेठ ८, मंगलबार    

कार्तिक २८ गतेको बैठकपछि कांग्रेस महाधिवेशनमा होमिने


काठमाडौं । नेपाली कांग्रेसले कार्तिक २८ गतेलाई केन्द्रीय समिति बैठक बोलाएको छ । मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार कार्तिक २८ गते आइतवार दिउँसो १ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, सानेपामा बैठक बोलाइएको हो ।

उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुको उपस्थिति रहने पौडेलले जानकारी दिए ।
१४औं महाधिवेशनको तयारीमा रहेको कांग्रेसले तोकिएकै मितिमा महाधिवेशन सम्पन्न गर्न आन्तरिक तयारी र रणनीतिका विषयमा छलफल गर्न बैठक बोलाएको बताइएको छ ।
कांग्रेसले छठलगत्तै १३ जिल्लामा बाँकी रहेका वडा अधिवेशन गर्ने तयारी गरिरहेको छ । गत भदौ १८ देखि वडा अधिवेशन सुरु गरे पनि प्रदेश–२ का ८ सहित विभिन्न १३ जिल्लामा वडा अधिवेशन सुरु नै भएको छैन् ।

यही कात्तिक २७ गते बाँकी रहेका जिल्लाका वडा अधिवेशन गर्ने गरी केन्द्रीय निर्वाचन समितिले कार्यतालिका जारी गरेको छ । यसअघि कांग्रेसले ६४ जिल्लामा वडा अधिवेशन गरिसकेको छ । केन्द्रीय महाधिवेशन भने मंसिर २४ देखि २६ सम्म काठमाडौंमा हुँदैछ ।

२१ हिमाली जिल्लामध्ये १३ जिल्लामा कांग्रेसले जिल्ला अधिवेशन गरेर नयाँ नेतृत्व ल्याइसकेको छ भने बाँकी ८ जिल्लामा पनि छठलगत्तै जिल्ला अधिवेशन गर्ने तयारी छ । हिमाली जिल्लामा अधिवेशन गराउनका लागि निर्वाचन अधिकृत तोकिइसकेका छन् ।

केन्द्रीय महाधिवेशन भने मंसिर २४ देखि २६ सम्म काठमाडौंमा गर्ने भनेको छ । त्यसअघि प्रदेश, जिल्लालगायत विभिन्न तहमा रहेका पार्टी संरचनाका लागि अधिवेशन हुनेछन् । कांग्रेसले पटकपटक महाधिवेशनको मिति सार्दै आएको छ । अब तोकिएकै समयमा महाधिवेशन हुने सभापति शेरबहादुर देउवा बताउँदै आएका छन् ।