लक्ष्मी पूजाको रातको संकेत: विद्युतमा नेपाल सक्षम - रुपान्तरण
 २०८१ बैशाख ८, शनिबार    

लक्ष्मी पूजाको रातको संकेत: विद्युतमा नेपाल सक्षम


काठमाडौं । उर्जा, जलश्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले भारत र बंगलादेशलगायतका छिमेकी देशसँग विद्युत बिक्रीको बाटो खुलेको बताएकी छिन् ।

मन्त्री भुसालले भारतसँग विद्युत व्यापार सुरु भइसकेको र बंगलादेशसँग सकारात्मक ढंगले कुरा अघि बढिरहेको बताइन । उनले भारतसँगको व्यापार दक्षिण एशियाकै पहिलो भएको समेत बताइन ।

मन्त्री भुसालले जलविद्युत क्रमशः बढ्दै गएकोले आन्तरिक खपत बढाउनु पर्ने बताउँदै विद्युत व्यापारले देशकै व्यापार घाटाको अवस्थामा सुधार गर्ने बताइन ।

मन्त्रीको यस्तो अभिव्यक्ति सार्वजनिक हुँदै गर्दा नेपाल विद्युत प्राधिकरणले नयाँ रेकर्ड सार्वजनिक गरेको छ । यस वर्षको तिहारको लक्ष्मीपूजाको दिन विद्युतको उच्च माग (पिक डिमाण्ड) १२७० मेगावाट पुगे पनि विद्युत आपूर्तिको व्यवस्थापन सहज रुपमा गरेको छ ।

प्राधिकरणले यस वर्षको लक्ष्मीपूजाको दिन साँझ सभा ६ बजे पिक डिमाण्ड १२७० मेगावाट रेकर्ड गरेको छ । गत वर्ष लक्ष्मीपूजाको दिन पिक डिमाण्ड ११२३ मेगावाट थियो । गत वर्षको तुलनामा यस वर्षको लक्ष्मीपूजाको पिक डिमाण्ड १४७ मेगावाट बढी हो ।

विगतका वर्षहरुमा लक्ष्मीपूजाको माग धान्नका लागि विद्युत आयात हुँदै आएकोमा अब आन्तरिक उत्पादनले नै पुग्न थालेको छ । यस वर्षको लक्ष्मीपूजाको पिक समयमै ४८ मेगावाट विद्युत भारत निर्यात गरिएको छ भने आयात शून्यमा झरेको छ ।

यस वर्ष संघीय राजधानी काठमाडौं उपत्यकासहित यस आसपासका क्षेत्रको पिक डिमाण्ड ३२०.६४ मेगावाट रेकर्ड गरिएको छ । गत वर्ष यस क्षेत्रको पिक डिमाण्ड २९६ मेगावाट थियो ।

चालु आर्थिक वर्षको अहिलेसम्मको पिक डिमाण्ड १६१४.८ मेगावाट रेकर्ड गरिएको छ । यो डिमाण्ड गत असोज १० गतेको हो । सोही दिनको निर्यातसहित प्रणालीको अधिकतम विद्युत माग १७५८.८ रेकर्ड गरिएको छ । यो नै अहिलेसम्मको सबैभन्दा बढी पिक डिमाण्ड हो ।

मन्त्री भुसाल, प्राधिकरणका सञ्चालकद्वय विश्वप्रकाश गौतम र कपिल आचार्य, कार्यकारी निर्देशक कुलमान घिसिङ, उपकार्यकारी निर्देशकसहितको टोलीले स्यूचाटारस्थित भार प्रेषण केन्द्र पुगी लक्ष्मीपूजाको दिन विद्युत माग र आपूर्ति व्यवस्थापनको जानकारी लिएको थियो । यस वर्षमा लक्ष्मीपूजाका दिन मुलकभर विनाअवरोध विद्युत् आपूर्ति गर्न प्राधिकरण सफल भएको छ ।

"