भारतीय राष्ट्रपति भवनमा नेपाली टोपीमा लीलबहादुर - रुपान्तरण
 २०८१ बैशाख ८, शनिबार    

भारतीय राष्ट्रपति भवनमा नेपाली टोपीमा लीलबहादुर


काठमाडौं । वरिष्ठ उपन्यासकार प्रा.लीलबहादुर क्षेत्री भारत सरकारबाट दिने प्रतिष्ठित पुरस्कार ‘पद्मश्री’ पुरस्कारबाट सम्मानित भएका छन् । चर्चित ‘बसाई’ उपन्यास लेखेर नेपाली साहित्यमा ठूलो गुन लगाएका असम निवासी क्षेत्रीलाई भारत सरकारले साहित्य र शिक्षा विधामा पद्मश्री पुरस्कारले सम्मान गरेको हो ।

सोमबार पद्म सम्मानका लागि भारतको नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा फरक भेषभुषाका प्रतिष्ठित व्यक्तिहरुमध्ये नेपाली टोपी लगाएका लिलबहादुर पनि थिए । क्षेत्रीले कालो नेपाली टोपीमा क्रस खुकुरी पनि देखिन्थ्यो । उनले गोर्खा पहिचान देखाइरहेका थिए ।

क्षेत्रीलाई पद्मश्रीका लागि बोलाइयो । ८८ वर्षका क्षेत्री अगाडि बढ्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नमस्कार गरे । त्यसपछि अगाडि बढ्दै सम्मान लिए । एक अर्ब ३० करोडभन्दा बढी जनसंख्या एको भारतमा नेपाली भाषीले पद्मश्री पाउनु महत्वको विषय थियो । त्यसमाथि क्षेत्रीले नेपाली भाषा साहित्यमा पुर्याएको योगदानवापत् पद्मश्री पाएका थिए ।

भारतको आसामका स्थायी बासिन्दा क्षेत्री गुवाहिटीमा जन्मिएका थिए । उनले नेपालमा जगदम्बा श्री पुरस्कार पनि प्राप्त गरेका थिए । क्षेत्रीको बसाईं उपन्यास चर्चित छ । उनको ब्रम्हपुत्रको छेउछाउ, अतृप्त, दोबाटोलगायत कृति चर्चित छन् । ८८ वर्षको उमेरमा पनि उनी साहित्यक गतिविधिमा सक्रिय छन् ।

क्षेत्रीले नेपाली साहित्यमा आख्यान, नाटक, निबन्ध, समालोचना र रकविताका माध्यमबाट योगदान दिएका छन् । उनले अन्य अनेक सम्मान पुरस्कारसंगै नेपाल प्रज्ञा प्रतिष्ठानले पहिलोपटक प्रदान गरेको अन्तर्राष्ट्रिय भानु पुरस्कार पनि प्राप्त गरेका थिए । क्षेत्रीका पुस्तकहरु त्रिभुवन विश्वविद्यालयको पाठ्यक्रममा समेत समावेश गरिएको छ ।

सन् २०२० का लागि १४१ जनालाई पद्मविभुषण, पद्मभुषण र पद्मश्रीबाट सम्मान गरिएको हो । जसमा ७ जनालाई पद्मविभुषण, १६ जनालाई पद्मभुषण र ११८ जनालाई पद्मश्रीबाट सम्मान गरिएको हो । जसमा ३४ जना महिला रहेका छन् । त्यसैगरी १८ जना विदेशी, एनआरआई, पीआईओ र ओसीआई तथा १२ जना मरणोपरान्त हुन् ।

पद्मविभुषण पाउनेमा शुषमा स्वराज (मरणोपरान्त), जर्ज फर्नान्डेज (मरणोपरान्त), अर्जुन जेट्ली (मरणोपरान्त), सर अनिरुद् जुगनाउथ (मरिसस), मेरी कोम (भारतीय खेलाडी), छन्नुलाल मिश्र र श्री विश्वेश्हतीर्थ स्वामीजीश्री पेजावभरा अधोखाजा मथा उदुपी (मरणोपरान्त) हुन् ।

त्यसैगरी भारतीय सिने जगतका चर्चित अनुहारहरु करण जोहर, कंगना रनौट, एकता कपूर, मुन्ना मास्टर लगायत पद्मश्रीबाट सम्मानित भएका छन् । पद्मश्री पुरस्कारबाट यसअघि नेपालीहरु मनिषा कोइराला, डा.सन्दूक रुइत र अनुराधा कोइराला सम्मानित भइसकेका छन् ।