आमाको नाममा विद्यालयमा अक्षय कोषको स्थापना - रुपान्तरण
 २०८१ बैशाख १३, बिहीबार    

आमाको नाममा विद्यालयमा अक्षय कोषको स्थापना


रुकुम पश्चिम । रुकुम पश्चिमको एक विद्यालयमा छोरा बुहारीद्वारा स्वर्गीय आमाको नाममा शैक्षिक अक्षय कोषको स्थापना गरिएको छ ।

जिल्लाको मुसिकोट नगरपालिका वडा नम्वर १ का कर्णबहादुर बोहरा र गायत्रा केसी बोहराले उनकी स्वर्गीय आमा चैती भण्डारी बोहराको नाममा रुकुम पश्चिमको मुसीकोट नगरपालिका १ को सरस्वती माध्यमिक विद्यालय सल्लेमा शैक्षिक अक्षय कोष स्थापना गरेका हुन् ।

आर्थिक अभावमा विद्यालय जान नपाएका वा नियमित नभएका विद्यार्थीको पढाइलाई सहयोग पुर्‍याउने उद्धेश्यले बोहरा दम्पतीले १ लाख १ हजार १ सय ११ रुपैयाँको कोष स्थापना गरेका हुन् ।

गरिब तथा विपन्न विद्यार्थीको हितमा छात्रवृत्ति प्रदान गर्ने गरी उक्त अक्षय कोष स्थापना गरिएको कर्णबहादुर बोहराले जनाए । बोहरा परिवारबाट नगद रकम विद्यालय व्यवस्थापन समिति अध्यक्ष डम्बर थापालाई हस्तान्तरण गर्दै कोष सञ्चालनको सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष थापाले कोषको रकम सदुपयोग गर्दै लक्षित विद्यार्थीमा पुर्‍याउने प्रतिबद्धता जनाउनु भएको छ ।

विद्यालयका प्रधानाध्यापक खम्बुसिं थापाले यस कोषको सही सदुपयोग हुनेमा विश्वास दिलाउदै बोहरा दम्पतिलाई धन्यवाद ज्ञापन गर्नु भएको छ । यस कोषबाट प्रतिवर्ष दुई जना गरिव, जेहेन्दार र विपन्न विद्यार्थीलाई नगद रकम प्रदान गरिनेछ ।