एमाले महाधिवेशन: विदेशका १५ पाहुना, १०३ जना पर्यबेक्षक - रुपान्तरण
 २०८० चैत्र १६, शुक्रबार    

एमाले महाधिवेशन: विदेशका १५ पाहुना, १०३ जना पर्यबेक्षक


काठमाडौं । नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनको अन्तिम तयारी गरिएको छ । महाधिवेशनको उद्घाटन शुक्रबार नारायणी नदी किनारमा हुँदैछ । उद्घाटनका दिन ५ लाख कार्यकर्ता चितवन उतार्ने एमालेको दाबी छ ।

महाधिवेशनमा ४ देशका विभिन्न राजनीतिक दलहरू सहभागी हुने भएका छन् । एमालेको विदेश मामिला विभागले विहीबार काठमाडौँमा आयोजना गरेको पत्रकार सम्मेलनमा भारत, बङ्गलादेश, श्रीलङ्का र कम्बोडियाका ८ राजनीतिक दलका १५ जना नेताहरू महाधिवेशनमा पाहुनाका रुपमा सहभागी हुने एमाले विदेश विभाग प्रमुख राजन भट्टराईले जानकारी दिए ।

पत्रकार सम्मेलनमा चीनलगायत अन्य २५ देशका दलहरूले भने शुभकामना सन्देश पठाएको विदेश विभाग प्रमुख भट्टराईले बताए ।

उता, महाधिवेशन नजिकिएसँगै यतिबेला चितवनको नारायणी नदी किनार क्षेत्र र सौराहा क्षेत्रमा चहलपहल बढेको छ । एमालेका केन्द्रीय तहका नेतादेखि जनवर्गीय सङ्गठनका नेता चितवन आउने क्रम जारी छ ।

महाधिवेशन प्रतिनिधिका लागि सौराहामा शनिबारदेखि मात्रै बस्ने व्यवस्थापन मिलाइएको छ । महाधिवेशनको उद्घाटन समारोह हुने नारायणी नदी किनारमा मञ्चको निर्माण कार्यले तीव्र गति लिइरहेको छ ।

उद्घाटनको दिन सार्वजनिक सवारी आवागमन बन्द गर्नेबारे स्थानीय प्रशासनले कुनै छलफल नगरेको बताइएको छ ।सवारी साधन बन्द गर्नेबारे चितवन प्रशासनले एमालेसँग कुनै छलफल नगरेको भन्दै चल्न पाउनुपर्ने आवाज उठाइएको छ ।

उद्घाटन समारोहमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा लगायत अन्य राजनीतिक दलका नेताहरु सहभागी भएर सम्बोधन गर्नेछन् । महाधिवेशनमा १०३ जना पर्यबेक्षकको सहभागिता रहनेछ । महाधिवेशन उद्घाटन पछि प्रतिनिधि र पर्यबेक्षकलाई खाना र बस्नको व्यवस्था मिलाइएको छ ।

१०औँ राष्ट्रिय महाधिवेशनको लोगोमा अङ्कित गैँडाको मस्कट तयार गरिएको छ । मूर्तिकार सूर्य मध्यरातसहित १० जनाको टोलीले १० दिन लगाएर गैँडाको मस्कट तयार पारेको हो । चितवन एकसिङ्गे गैँडाका लागि परिचित भएकाले महाधिवेशनको लोगोमा गैँडाको मस्कट राखिएको एमाले चितवनका अध्यक्ष पार्वती रावलले जानकारी दिए ।