नारायणी नदी किनारबाट उदघोष: लोकतान्त्रिक शक्तिहरू एक छौं - रुपान्तरण
 २०८१ बैशाख ५, बुधबार    

नारायणी नदी किनारबाट उदघोष: लोकतान्त्रिक शक्तिहरू एक छौं


काठमाडौं । एमालेको दशौं महाधिवेशनमा नेताहरुले दलहरूबीच सद्भाव, छलफल र संविधान मार्फत हरेक समस्याको समाधान निकाल्न सकिने विषयमा एकै स्वर गरेकाछन् । सहभागी विभिन्न दलका शीर्ष नेताहरूले लोकतान्त्रिक शक्तिहरू एक हुनुपर्नेमा पनि आवाज उठेको छ ।

नेताहरूको तेजोवध गर्ने प्रतिस्पर्धा बढ्दै जाँदा प्रणाली नै कमजोर हुँदै गएको उनीहरूको निष्कर्ष छ । व्यवहारमा अलग भए पनि जनताको हितका विषयमा साझा एजेण्डा तय गरी अगाडी बढनुपर्ने विषयमा नेताहरूको एकमत छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच संवाद र भेटघाट टुटेको पाँच महिनापछि एमालेको दशौं महाधिवेशनले पुनर्मिलन गराइदिएको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालको समर्थनमा निर्मित सरकारको नेतृत्व देउवाले गरेपछि ओली देउवा संवादहीनता बढेको थियो ।

एमालेको दशौं महाधिवेशनमा विशिष्ट पाहुना भएर पुगेका प्रधानमन्त्री देउवाले आफ्नो र देउवाको मित्रता जेलबाट सुरु भएको स्मरण गरे । दलहरूबीच सद्भाव, छलफल र संविधान मार्फत् हरेक समस्याको समाधान निकाल्न सकिने बताउँदै उनले थिति बसाल्ने काममा साथ एमाले नेतृत्वसँग अपिल गरे ।

प्रधानमन्त्री देउवाले अध्यक्ष ओली र आफू जेलमेट भएको बताउँदै त्यो बेला भोगेको दुःखलाई ध्यानमा राखेर अबका दिनमा कुनै नेपालीलाई दुःख नदिने गरी काम गर्नुपर्ने बताए । सबैको सहयोगबाट संसदभित्र प्रतिनिधित्व गर्ने र संसद बाहिरका राजनीतिक दलसँग सहकार्य गरी देश र जनतालाई केन्द्रमा राखेर साझा धारणा बनाएर अघि बढ्ने विषयमा आफू प्रतिवद्ध रहेको उनको भनाइ छ ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता लीलामणि पोखरेलले कम्युनिष्ट एकता अनिवार्य आवश्यकता भएको बताए । कम्युनिष्ट आन्दोलन अगाडि बढाउन कम्युनिष्ट एकता र ध्रुवीकरण अनिवार्य रहेको भन्दै विचार र कार्यदिशा एकताको आधार भएको उनको भनाइ थियो ।

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने, शासन पद्धति जनतामा केन्द्रित गर्नुपर्ने विषयलाई अझै एजेण्डा बनाउन नसकिएको बताए । लोकतान्त्रिक र संवैधानिक संस्थाहरू निष्क्रिय भएकोले यसलाई प्रभावकारी बनाउन अब ढिलो गर्न नहुनेमा जोड दिए । कमजोरीलाई हटाएर लोकतन्त्र, संघीयता र समावेशीलाई जनताको हितमा प्रयोग गर्नुपर्ने उजको भनाइ छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले एमाले अध्यक्ष ओलीको खुलेर प्रशंसा गर्दै देशलाई संकटबाट बचाउन ओलीको खाँचो रहेको बताए । राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकामा भएको विसङ्गतिको जिम्मा राजनीतिक पार्टीहरूले लिनुपर्ने बताए । दलहरूबीच खुइल्याउने प्रतिस्पर्धा बढेकोमा उनले चिन्ता व्यक्त गरे । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले ओली सरकारले मधेश मुद्दा सुल्झाउन गरेको पहललाई देउवा सरकारले पनि निरन्तरता दिनुपर्ने बताए ।

चितवनमा शुक्रबारदेखि शुरु भएको एमालेको १०औं राष्ट्रिय महाधिवेशन उद्घाटन शत्रमा ६ लाख कार्यकर्ता आएको एमाले चितवन जनाएको छ । पार्टी जिल्ला अध्यक्ष पार्वती रावलका अनुसार महाधिवेशनमा देशभरबाट ६ लाख पार्टी नेता कार्यकर्ता आएको दाबी गरिन । चितवनको इतिहासमा यति धेरै मानिसहरु जम्मा भएको पहिलो पटक भएको उनको भनाइ छ । महाधिवेशनको उद्घाटन शत्र स्थल नारायणी नदी किनारमा नअटाएपछि कार्यकर्ताहरु नारायणगढ बजारमा छरिएका थिए ।