सरकारको अपिल: अत्यावश्यक काम बाहेक विदेश भ्रमण नगर्नु - रुपान्तरण
 २०८१ बैशाख २५, मंगलबार    

सरकारको अपिल: अत्यावश्यक काम बाहेक विदेश भ्रमण नगर्नु


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अत्यावश्यक काम बाहेक विदेश भ्रमण नगर्न अनुरोध गरेको छ । स्वास्थ्य मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमणको जोखिम बढ्दै गएकाले अत्यावश्यक काम बाहेक विदेश भ्रमण नगर्न सबैलाई अपिल गरेको हो ।

यो भेरियन्ट बढी संक्रामक तथा सबै उमेर समूहका व्यक्तिलाई असर पार्ने देखिएकाले संक्रमण रोक्न सबै सचेत र जिम्मेवार बन्न मन्त्रालयले आग्रह गरेको छ । ओमिक्रोन भेरियन्ट नेपालमा फेला परिनसकेकाले समयमा नै सावधानी अपनाई नेपाल प्रवेश हुन नदिन सबै निकायलाई अनुरोध समेत विज्ञप्तिमार्फत गरिएको छ ।

कोरोनाविरुद्धको खोपले रोगबाट बचाउने भएकाले पायक पर्ने खोप केन्द्रमा गई अनिवार्य रुपमा खोप लगाउन पनि स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ । अफ्रिका, एसिया लगातय केही देशहरुमा यो भेरियन्ट तिव्र रुपमा फैलिरहेको छ ।