कांग्रेस प्रदेश अधिवेशनमा देउवाको यस्तो निर्देशन - रुपान्तरण
 २०८१ बैशाख २३, आईतबार    

कांग्रेस प्रदेश अधिवेशनमा देउवाको यस्तो निर्देशन


काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निकट भविष्यमा हुने तीनै तहको निर्वाचनमा केन्द्रीत हुन नेता, कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।

बिहीबार नेपाली कांग्रेसको प्रथम प्रदेश अधिवेशनको भर्चुअल माध्यमबाट उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले केही महिनाभित्रै स्थानीय तहको र एक वर्षभित्र संघ र प्रदेशको निर्वाचन हुने भन्दै पार्टीको अधिवेशन लगत्तै चुनाव तर्फ केन्द्रीत हुन निर्देशन दिएका हुन् । उनले पार्टी भित्रको आन्तरिक चुनाव हुने हार, जित स्वभाविक प्रक्रिया र लोकतान्त्रिक अभ्यास भएको भन्दै आगामी दिनमा जनताको विश्वास जित्नेगरी चुनावमा केन्द्रीत हुन आग्रह गरे ।

प्रधानमन्त्री देउवाले प्रदेश अधिवेशनमा नेपाली कांग्रेसलाई थप सशक्त र बलियो बनाएर जनताको मन जित्ने रणनीति बनाउने विषयमा पनि छलफल गर्न आग्रह गरे । उनले लोकतन्त्र बलियो भए मात्रै मुलुक समृद्ध हुने भन्दै विकास र समृद्धिको नेतृत्व नेपाली कांग्रेसले मात्रै गर्नसक्ने दाबी गरे ।

बुधबारसम्म ६१ जिल्लामा पार्टीको जिल्ला अधिवेशन सम्पन्न गरेको कांग्रेस विहीबारदेखि प्रदेश अधिवेशनमा जुटेको हो । मङ्सिर १६ गतेदेखि प्रदेश कार्यसमितिको निर्वाचन कार्यतालिका तय गरेको छ । मङ्सिर १६ गते बिहान १० बजे मतदाता नामावली प्रकाशित गर्ने, मङ्सिर १७ गते बिहान ८ देखि ११ बजेसम्म उम्मेदवार मनोनयन पत्र दर्ता गर्ने, सोही दिन दिउँसो ११ देखि १ बजेसम्म मनोनयन पत्रमाथि पर्ने दाबी विरोध दर्ता गर्ने, जाँचबुझ गर्ने र मङ्सिर १७ गते २ बजे सो उपर निर्णय गर्ने प्रदेश निर्वाचन कार्यतालिका रहेको छ ।

मङ्सिर १७ दिउँसो २ देखि साँझ ५ बजेसम्म उम्मेदवारको नेपाली वर्णानुक्रम ९देवनागरी लिपी० पहिलो नाम प्रकाशित गर्ने, सोही दिन साँझ ६ः३० मनोनयन फिर्ता लिने, साँझ ७ः३० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र मङ्सिर १८ गते विहान ८ बजेदेखि प्रदेश कार्यसमितिका लागि मतदान सुरु हुने समिति संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए । कांग्रेसको १४औँ महाधिवेशन यही मङ्सिर २४ देखि २६ गतेसम्म काठमाडौँमा हुँदैछ ।