एमाले महाधिवेशनलाई प्रचण्डले दिए ‘पञ्चर्‍याली’को संज्ञा - रुपान्तरण
 २०८१ बैशाख २३, आईतबार    

एमाले महाधिवेशनलाई प्रचण्डले दिए ‘पञ्चर्‍याली’को संज्ञा


काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेको महाधिवेशन प्रतिक्रान्तिलाई बलियो बनाउन आयोजना गरिएको भए पनि त्यो प्रयास असफल भएको बताएका छन् । शनिबार चितवनमा आयोजित प्रेस सेन्टर नेपालको चौथो महाधिवेशनलाई सम्बोधन गर्दै प्रचण्डले एमालेको १०औं राष्ट्रिय महाधिवेशनलाई पञ्चर्‍यालीसँग पनि तुलना गरे ।

‘अस्तिको कुम्भमेला प्रतिगमनलाई बलियो बनाउन भएको थियो तर त्यो असफल भएको छ, त्यो पार्टी मण्डलेहरुको मोर्चामा पतन भएको छ ,’ उनले भने, ‘पञ्चर्‍याली जस्तो पैसाको बलमा धाक धम्की दिएर गरिएको कुम्भ मेलाको कुनै अर्थ छैन, यसैगरी लाखौंलाख मान्छे उतारेको पन्चायत एक वर्षमै ढलेको हामीले बिर्सन हुँदैन’, उनले भने ।

उनले मुलुकमा अझै प्रतिगमनको खतरा टरिनसकेको बताए ।  प्रतिगमनकारी र प्रतिक्रान्तिकारी शक्तिहरुले सत्तारुढ गठबन्धनलाई कमजोर पार्न सकिन्छ कि भनेर षडयन्त्र गरिरहेको बताए । अर्को एक कार्यक्रममा प्रचण्डले चितवन राजनीतिको केन्द्र बनेको उल्लेख गर्दै एमालेको १० औं महाधिवेशनमा सहभागी हुन आएकाहरुले चितवनको विकास र महत्व बुझेर गएको उल्लेख गरे । नारायणी नदी किनारमा पैदलमार्ग तथा अन्य पूर्वाधार निर्माण शिलान्यास समारोहलाई सम्बोधन गर्दै प्रचण्डले  एमाले महाधिवेशनलाई आफूले सकारात्मक रुपमा लिएको बताए। उनले भने,‘देशको राजनीतिको केन्द्र पनि चितवन भएको छ। केही दिन अघि निकै ठूलो मेला जसरी मानिसहरु जम्मा भए। नारायणी के हो ? चितवन के हो ? यहाँको भौतिक पूर्वाधार केहो ? भन्ने देखेर गए ।’

उनले एमाले मात्र नभइ अन्य पार्टीले पनि चितवनमा कार्यक्रम गर्न सुझाव दिए । ‘देशभरका जनताले चितवन, चितवनको विकास, नारायणी, यहाँको धार्मिक तथा पर्यटकीयस्थलहरु सबै जमिन र जंगलको स्थिति बुझेर जानु भनेको हामी चितवनबासीहरुको लागि खुसी र गर्वको कुरो हो’उनले भने ।

शुक्रबार गृह जिल्ला चितवन पुगेका प्रचण्डले चितवनमा र भरतपुरमा विकासका धेरै काम भएको बताउँदै एमालेका मान्छेहरुले भौतिक पूर्वाधारको विकास साथै चितवन जिल्लाको राजनीतिक महत्व के हो भन्ने एमालेले मजाले बुझने मौका पाएको पनि उल्लेख गरे । 

अर्को प्रसंगमा अध्यक्ष प्रचण्डले सहमतिबिना प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध संसद्मा महाअभियोग प्रस्ताव ल्याउने अवस्था नरहेको बताए । उनले यही मङ्सिर २८ गते बोलाइएको संघीय संसद्को हिउँदे अधिवेशनमा जबराविरुद्धको महाअभियोग प्रस्ताव अघि बढ्ने अवस्था नरहेको प्रस्ट्याए । राष्ट्रिय सहमति र दलहरुबिचको समझदारी नभई प्रधानन्यायाधीशविरुद्ध अघि बढ्न नसकिने उनको भनाइ थियो ।