नेपालमा अब दैनिक दुई लाख जनालाई कोरोनाविरुद्धको खोप - रुपान्तरण
 २०८१ बैशाख २४, सोमबार    

नेपालमा अब दैनिक दुई लाख जनालाई कोरोनाविरुद्धको खोप


काठमाडौं । नेपालमा अब कोरोना विरुद्धको खोप अभाव नहुने देखिएकोछ । सरकारले दैनिक दुई लाख जनालाई कोरोना भाइरस विरुद्धको खोप लगाउने गरी तयारी गरेको छ । यससम्बन्धी तयारी पूरा गरेको सरकारले जनाएको छ । यसका लागि आवश्यक खोप, खोपकेन्द्र र जनशक्तिको व्यवस्था गरिसकेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले विदेशबाट नियमित खोप आउन थालेपछि खोप आवश्यक पर्ने सबैलाई लगाउने जनाएको छ । मन्त्रिपरिषद्को यही मङ्सिर १३ गते बसेको बैठकले सबै नागरिकलाई निःशुल्क रुपमा कोभिड–१९ खोप उपलब्ध गराउने निर्णय गरेको थियो । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले दैनिक दुई लाख जनालाई खोप लगाउने गरी आवश्यक सबै तयारी पूरा भएको जानकारी दिएका छन् ।

उनका अनुसार मन्त्रालयले जनताको घरदैलोसम्म खोप पुयाउनका लागि सम्बन्धित जिल्लाका स्वास्थ्य कार्यालयलाई निर्देशन दिइसकेको छ । सर्वसाधारणमा कोभिड–१९ विरुद्धको खोप पुर्याउनका लागि नियमित सञ्चालन हुने खोप केन्द्रबाट नै खोप लगाइने बताए । उनले स्वास्थ्यकर्मी, कर्मचारी र अग्रपंक्तिमा काम गर्नेले खोप लगाइसकेको भन्दै अब स्थानीय तहमा पुगेर नै खोप लगाउन छुटेका व्यक्तिलाई खोप लगाइने जानकारी दिए । उनका अनुसार अहिलेसम्म नेपालमा दुई करोड ७३ लाख ५६ हजार ५३० मात्रा खोप आइसकेको छ ।

तीन करोड ५० लाख खोप आउने क्रममा छ । अहिलेसम्म एक करोड ८८ लाख ६२ हजार २१६ जनाले खोप लगाइसकेका छन् । तीमध्ये एक करोड दुई लाख ४८ हजार ३६९ पहिलो मात्रा र ८६ लाख १३ हजार ८४७ जनाले पूर्ण मात्राको खोप लगाइसकेका छन् ।

सरकारले पुस मसान्तभित्र कूल लक्षितको दुई तिहाई र चैतमसान्तसम्म लक्षित सबै नागरिकलाई खोप लगाउने लक्ष्य लिएको छ । सरकारले खरिद गरेर र कोभ्याक्स सुविधामार्फत दैनिक खोप ल्याइरहेको छ ।

सरकारले बालबालिका खोप लगाउनका लागि मोडर्ना र फाइजर ल्याउने अन्तिम तयारीमा गरेको छ । फाइजर खोप एक लाख मात्रा आइसकेको छ । यही पुस १५ गतेभित्र मोडर्ना र फाइजर खोप ल्याउने मन्त्रालयको तयारी रहेको छ । मोडर्ना ७७ लाख र फाइजर ६० लाख ल्याउनका लागि सबै प्रक्रिया पूरा गरिएको मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले जानकारी दिए ।