राप्रपा नेतृत्वमा लिङ्देन, १९ वर्षपछि बाहिरिए थापा - रुपान्तरण
 २०८१ बैशाख २३, आईतबार    

राप्रपा नेतृत्वमा लिङ्देन, १९ वर्षपछि बाहिरिए थापा


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन् । आइतबार विहान सकिएको मत गणना अनुसार लिङ्देनले आफ्ना प्रतिस्पर्धी कमल थापालाई पराजित गरेका हुन् ।

मत गणनाको प्रारम्भदेखि नै अग्रता लिएका लिङ्देनले थापालाई १६७ मत अन्तरले पराजित गरेका हुन् । मतदानमा लिङ्देनले १ हजार ८४४ मत प्राप्त गरेका थिए भने थापाले १ हजार ६७७ मत प्राप्त गरेका थिए । ४१३ मत बदर भएको थियो ।

स्पष्ट रुपमा देखिने गरी लिङ्देनलाई निवर्तमान अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीको साथ रहेको थियो । त्यस्तै थापालाई अर्का निवर्तमान अध्यक्ष पशुपति शमशेर राणाले साथ दिएको भनिए पनि राणालेसमेत स्वविवेक प्रयोग गर्न भन्दै आएका थिए ।

यता, अध्यक्षमा पराजित कमल थापाले नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको सपथ ग्रहण र प्रमाणपत्र वितरण समारोह बहिस्कार गरेका छन् । लिङदेनसँग अध्यक्षमा पराजित थापा नयाँ कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको शपथग्रहण कार्यक्रममा अनुपस्थित भएका हुन् ।

नयाँ कार्यसमितिको आइतबार नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको शपथग्रहण कार्यक्रममा पशुपति शमशेर राणा, डा.प्रकाशचन्द्र लोहनीसहित सबै नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो । १९ वर्षदेखि राप्रपाको निरन्तर अध्यक्ष रहेका थापा आइतबार बिहान सम्पन्न मतगणनामा लिङदेनसँग पराजित भएका हुन् । थापा २०६१ सालदेखि लगातार राप्रपाको अध्यक्ष थिए । थापाको पराजयसँगै राप्रपाको नेतृत्व पुस्तान्तरण भएको छ । लिङदेनको जितमा निर्मल निवास (पूर्वराजा)को हात रहेको थापाको आरोप छ ।

आफू विजयी भएपछि लिङ्देनले लिङ्देनले कांग्रेस र एमालेलगायतका पार्टीहरुले राप्रपाको अधिवेशनबाट सिक्नुपर्ने बताएका छन् । नेतृत्व हस्तान्तरणको बैधानिक व्यवस्था नभए पनि एउटै पदमा बर्षौंसम्म बन्ने मानसिकता त्याग्न राप्रपाबाट सिक्नुपर्ने धारणा राखेका हुन् ।

नवनिर्वाचित नयाँ कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको शपथग्रहण तथा प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने,‘कांग्रेस र एमालेमा भएका मेरा दौंतरीहरु पुस्तान्तरणका लागि आँट गर्न सक्नुभएको छैन । हामीले आँट गरेर देखायौं ।’उनले अब पुस्तान्तरणको अभियानलाई राप्रपाले नेतृत्व गरेर जाने पनि बताए ।थापाले भने आफू पराजित हुनुको कारण निर्मल निवासको नाङ्गो हस्तक्षेप भएको भन्दै आक्रोशित भएका छन् ।

उनले पूर्वराजा ज्ञानेन्द्रप्रति असन्तुष्टि जनाउँदै पराजय आफ्नो लागि पुरस्कार भएको पनि प्रतिक्रिया जनाएका छन् । उनले लेखेका छन्, ‘सिङ्गो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर २०६३ सालदेखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइयो । सो एजेण्डाको मुल संवाहकलाई राजनीतिक रुपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस् । हार्दिक शुभकामना।’