अन्तिम पटक सभापति बन्ने देउवाको इच्छा - रुपान्तरण
 २०८१ बैशाख १७, सोमबार    

अन्तिम पटक सभापति बन्ने देउवाको इच्छा


काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले फेरि कांग्रेसको सभापति बन्ने इच्छा व्यक्त गरेका छन् । सोमबार बालुवाटारमा सञ्चारकर्मीसँग कुरा गर्दै सभापति देउवाले आफ्नो इच्छा व्यक्त गरेका हुन् । सभापतिले देउवाले १४ औं महाधिवेशनमा पनि आफैँ सभापति लड्न लागेको जानकारी दिँदै सहयोग गर्न सञ्चारकर्मीलाई आग्रहसमेत गरे ।

पाँच दलीय गठबन्धनको नेतृत्व गर्दै आफू प्रधानमन्त्री समेत रहेकाले अन्तिम पटक सभापति भएर काम गर्ने मन भएकाले सबै साथीहरुलाई आग्रह गरिरहेको जानकारी दिए । उनले भने,‘विधानबमोजिम एक पटक सभापति बन्न चाहेको छु । मुलुकमा लोकतान्त्रिक व्यवस्थाको रक्षाका लागि धेरै कामहरु गर्न बाँकी छन् । त्यसैले सभापति बनेर अझ धेरै राम्रो काम गर्ने मन छ ।’

कांग्रेसको १४औं महाधिवेशनमा कांग्रेसले धेरै मान्छे उतारेर जनतालाई दुःख नदिने बताए । कोरोनाको नयाँ भेरियन्ट आइसकेकाले जनतालाई सुरक्षित राख्ने जिम्मेवारी सरकारको भएकाले धेरै मान्छे उतार्नु सान्दर्भिक नहुने उनको भनाइ थियो ।

यता, सभापतिका आकांक्षीसमेत रहेका रामचन्द्र पौडेलसमूहका नेताहरु आन्तरिक छलफलमा जुटेका छन् । सभापतिका रुपमा नेता पौडेल, प्रकाशमान सिंह, शेखर कोइराला र शशांक कोइरालाले इच्छा देखाएका छन् । त्यस्तै देउवाले अहिलेको गठबन्धन चुनावसम्मका लागि मात्र भएको पनि जानकारी दिए । राष्ट्रियसभा चुनावपछि गठबन्धन के हुने भन्नेबारे छलफल नभएको उनले बताए ।

राष्ट्रिय सभामा २० सदस्यको पदावधि आगामी फागुन २० गते सकिँदैछ । निर्वाचन आयोगले माघ १२ गते राष्ट्रिय सभा चुनाव गर्ने तयारी गरेको छ । राष्ट्रिय सभाका २० सदस्यमध्ये १ जना राष्ट्रपतिबाट मनोनित हुन् भने १९ पदका लागि निर्वाचन हुन लागेको हो ।