नेपालमा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फेला - रुपान्तरण
 २०८१ बैशाख २४, सोमबार    

नेपालमा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फेला


काठमाडौं । नेपालमा पनि कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन फेला परेको छ । दक्षिण अफ्रिकाबाट नेपाल आएका एक विदेशी व्यक्ति र उनीसँगको सम्पर्कमा आएका व्यक्तिमा नयाँ भेरियन्ट रहेको पुष्टि भएको छ ।

७१ वर्षीय र ६६ वर्षीय दुई जनामा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार भर्चुअल पत्रकारसम्मेलन गर्दै जानकारी दिएको हो ।

मङ्सिर ३ गते नया भेरिएन्ट पुष्टि भएको देश हुँदै ६६ वर्षीय विदेशी नागरिक नेपाल आएका थिए । नेपाल आउँदा उनीसँग रिपोर्ट नेगेटिभ भएको र खोपको पूर्ण मात्रा लगाएको प्रमाण पत्र थियो ।

उनीसँग नजिकको सम्पर्कमा रहेका एक ७१ वर्षीय व्यक्ति र उनलाई कोभिड–१९ सँग मिल्दाजुल्दा लक्षण देखिएको थियो । त्यसपछि ७ गते पीसीआर परीक्षण गर्दा दुवै जनालाई पोजेटिभ देखिएको थियो ।

त्यसपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा जिन सिक्वीन्सिङ गरिएको थियो । हिजो आएको नतिजामा नयाँ भेरियन्ट ओमीक्रोन रहेको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

हाल दुवै जना आइसोलेसनमा रही स्वास्थ्य लाभ गरिरहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार उनीहरुमा अहिले कुनै लक्षण छैन । स्वास्थ्यकर्मीको निगरानीमा राखिएको छ।

उक्त दुई व्यक्तिहरुसँग सम्पर्कमा आएकाहरुको बृहत रुपमा कन्ट्याक्ट ट्रेसिङ भइरहेको मन्त्रालयले जानकारी दिएको छ । हालसम्म उनीहरुसँग सम्पर्कमा रहेका ६६ जनाको पीसीआर परीक्षण गरिएको छ । तर सबैको रिपोर्ट नेगेटिभ आएको छ ।