महाअभियोगको विपक्षमा ओली - रुपान्तरण
 २०८१ बैशाख १७, सोमबार    

महाअभियोगको विपक्षमा ओली


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकबर्ष भित्र एमालेको सरकार बन्ने दाबी गरेका छन् । मुलुकको विकास र समृद्धिको अभियानलाई निरन्तरता दिन एमालेलाई आगामी निर्वाचनमा विजयी गराउन आब्हान समेत गरे ।

एक वर्षमा चुनाव भइसक्ने र एमालेको नेतृत्वमा सरकार बनेपछि पुनर्निर्माण र नवनिर्माणको कामहरु अगाडि बढाउँद देशलाई समृद्धिको बाटोमा लैजाने उनको भनाइ थियो ।

त्यस्तै अर्को एक कार्यक्रममा अध्यक्ष ओलीले आफू न्यायालय सुधारको पक्षमा रहेको बताए । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागेर आन्दोलनमा उत्रिएको नेपाल बार एसोसिएसनको ज्ञापन पत्र बुझ्दै कानुन व्यवसायीलाई पनि सच्चिन सुझाव दिए ।

नेपाल बारसहित सर्वोच्च बारका पदाधिकारीले मंगलबार ओली निवास बालकोट पुगेर प्रधानन्यायाधीश जबरालाई महाअभियोग लगाउनुपर्ने सुझाव सहितको ज्ञापन पत्र बुझाएको थियो । सो क्रममा ओलीले तत्कालै न्यायलय सच्चिएर अघि बढ्ने अवस्था आफूले नदेखेको बताए ।

प्रधानन्यायाधीशमाथि अहिले महाअभियोग लगाउने बारेमा ओलीले सकरात्मक प्रतिक्रिया दिएनन् । उनले भने,‘चोलेन्द्रको गल्ती छैन भनेर भनिरहनुभएको छ, यस्तो बेलामा कसरी महाभियोग दर्ता हुन्छ ?’ बारका प्रतिनिधिसँग निवास बालकोटमा कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।

अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नामै लिएर सत्तापक्ष प्रधानन्यायाधीश जबरालाई संसदमा महाअभियोग लगाउने पक्षमा नरहेको दाबी गरे । जबरालाई हटाउन संसदमा महाअभियोग प्रस्ताव नआउने बताए ।