निर्मल निवासप्रति कमल थापाको प्रहार - रुपान्तरण
 २०८१ बैशाख १७, सोमबार    

निर्मल निवासप्रति कमल थापाको प्रहार


काठमाडौं । राप्रपाका निवर्तमान अध्यक्ष कमल थापाले राप्रपालाई ‘भजन मण्डली’ बनाउने निर्मल निवासको योजना सफल हुन नदिने बताएका छन् । मंगलबार अपरान्ह एक विज्ञप्ति जारी गर्दै राजसंस्थाका वारेमा र पार्टीलाई रिमोट कन्ट्रोलबाट चलाउन चाहने निर्मल निवासको योजनाका वारेमा पार्टी भित्र बहस पनि शुरु गर्ने बताए ।

थापाले राजसंस्था पुनर्वाहली भएको अवस्थामा पनि अन्य पार्टी र राजनीतिमा राज परिवारको हस्तक्षेप हुनेछैन भन्ने अवस्था नरहेको पनि बताए । निर्मल निवासप्रति चुनाव हारेकाले मात्र आक्रोश व्यक्त नगरेको उनको भनाइ थियो । उनले भनेका छन्,‘एउटा खेलाडी भएको नाताले हार वा जीतले मेरो लागि कुनै अर्थ राख्दैन । हारलाई पनि सहर्ष स्विकार गरेर फेरी अर्को प्रतिस्पर्धाको निम्ति तयार रहने संस्कार मेरो रगतमा रहेको छ । तर, पार्टी भित्रको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको अवांछित र अमर्यादित हस्तक्षेपले राजसंस्था सम्बन्धि मेरो र राप्रपाको आधारभूत मान्यता माथी नै गंभीर आघात पुगेको छ ।’

राप्रपाले परिकल्पना गरेको राजसंस्था एउटा आदर्श अभिभावकको रूपमा रहने सम्मानित संस्था भएको भए पनि हस्तक्षेप अमान्य हुने उनको भनाइ छ । उनले नेपालको भूराजनीतिक अवस्था तथा धार्मिक, सामाजिक र सांस्कृतिक परिवेशमा राष्ट्रियता र एकताको प्रतिकको रूपमा राजनीति भन्दा माथी उठेको साझा संस्थाको रूपमा राजसंस्था हुनु उपयुक्त हुने उल्लेख गरेका छन् । उनले लेखेका छन्,‘राप्रपाले परिकल्पना गरेको राजसंस्था एउटा आदर्श अभिभावकको रूपमा रहने सम्मानित संस्था हो । चुनावी राजनीति भन्दा माथी उठेको सम्पूर्ण नेपालीहरूको साझा र तटस्थ संस्थाको रूपमा हामीले राजसंस्थाको वकालत गरेका हौं ।’

अहिले शतप्रतिशत राजावादीहरू भएको पार्टीमा राजाको ठाडो र फोहरी हस्तक्षेप भएको प्रमाण आफूसँग रहेको उल्लेख गर्दै थापाले भोली राजसंस्था स्थापित हुंदा अन्य पार्टी र राजनीतिमा राजाको हस्तक्षेप हुंदैन भनेर भन्ने हाम्रो नैतिक धरातल समाप्त भएको पनि बताए ।

‘विगतमा झैं राजाबाट प्रजातन्त्र र प्रजातान्त्रिक संस्थामा हस्तक्षेप हुंदैन भनेर अब हामीले कुन मुखले भन्ने ? अत्यन्त प्रतिकुल अवस्था पनि राजसंस्थाको एजेण्डा बोकेर हिंडेको म र राप्रपालाई अहिले परेको पिर यहि हो । म नैतिक र धर्मसंकटमा परेको छु’उनले लेखेका छन् ।