गगनले सार्वजनिक गरे १५ बुँदे अवधारणापत्र - रुपान्तरण
 २०८१ बैशाख १७, सोमबार    

गगनले सार्वजनिक गरे १५ बुँदे अवधारणापत्र


काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा महामन्त्रीका उम्मेदवार गगनकुमार थापाले आफ्नो अवधारणा पत्र सार्वजनिक गरेका छन् ।
बिहीबार प्रज्ञा प्रतिष्ठान भवनमा पार्टी पुनर्जागरण र रुपान्तरणका लागि अवधारणा पत्र सार्वजनिक गर्दै कांग्रेसले अब ‘म होइन हामी’ भनेर काम गर्ने बताए ।

१४औं महाधिवेशनपछि पार्टीको लक्ष्य ‘समुन्नत नेपाल, सम्मानित नेपाली’ हुने बताउँदै आफ्नो अवधारणा बोक्न सक्नेलाई सभापतिमा साथ दिने प्रतिवद्धता जनाए ।

महाधिवेशनमा नेतृत्व मात्र चयन हुने भएकाले आफू महामन्त्री भएर गर्ने काम अवधारणा पत्र ल्याएको उनको भनाइ थियो । शिक्षा, स्वास्थ्य जस्ता क्षेत्रमा राज्यले लगानी गरेर सबै नागरिकको सहज र समान पहुँचको व्यवस्था गर्नुपर्ने भन्दै उनले सामाजिक लोकतन्त्रलाई व्यवहारमा लागु गर्नुपर्ने बताए ।

आफू महामन्त्रीमा विजयी भएमा रुख चिन्हमा मत हालौं हालौं लाग्ने कांग्रेस बनाउने र २०७८ सालपछि कांग्रेसले समुन्नत नेपालः सम्मानित नेपाली गराउने गरी कार्यक्रम बनाउनुपर्ने धारणा राखे । १५ बुँदे अवधारणापत्र सार्वजनिक गर्दै थापाले शुक्रबारदेखि शुरु हुने महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने बताए ।

आउँदो निर्वाचनमा कांग्रेसले जित्ने विषयमात्रै नभए समन्नुत नेपालको लक्ष्यलाई पूरा गर्नका लागि जित्नु पर्ने भन्दै उनले आफू नेतृत्वमा पुगे चार वर्षमै पार्टीको महाधिवेशन हुने पनि बताए ।

कांग्रेस महामन्त्री पद केवल कुर्सीमा मात्रै बस्ने नभई पार्टीको कार्यदिशाको प्रस्तावकसमेत रहेको उनको भनाइ थियो । आफ्नो जीवनकाल भर कांग्रेसको क्रियाशील सदस्य भएर बाँच्न चाहेको बताउँदै थापाले पार्टीमा क्रियाशील भएर जनताको जीवनमा बदलाव ल्याउने कुरा आफ्नो प्राथमिकतामा रहेको उल्लेख गरे ।