महाधिवेशन उद्घाटन सत्रको मन्चबाटै देउवाले मागे भोट - रुपान्तरण
 २०८१ बैशाख १७, सोमबार    

महाधिवेशन उद्घाटन सत्रको मन्चबाटै देउवाले मागे भोट


काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन शुक्रबारबाट काठमाडौंमा शुरु भएको छ । महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दै २७ गते सकिने छ । शुक्रबारको उदघाटन सत्रमा सभापति शेरबहादुर देउवाले आफूलाई साथ दिन आग्रह गरेका छन् । उद्घाटनमा बोल्दै प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले आफूलाई सभापतिमा विजयी गराए देशभर कांग्रेसको सरकार बनाउने प्रतिवद्धता व्यक्त गरे ।

‘नेपालमा कांग्रेसको सरकार बनाउँछु, बनाउँछु, बनाउँछु,’ देउवाले भने, ‘तपाईंहरु मलाई साथ दिनुस् ।’ सभापति देउवाले आफ्नो सरकार आएको दिनदेखि देश र जनताले ओली र डरत्रासको शासनबाट मुक्ति पाएको दाबी गरे ।

‘म प्रधानमन्त्री बनेको भोलिपल्टै देशले मुक्ति पायो, ओलीको शासनले मुक्ति पायो,’ उनले भने, ‘अबको दिनमा त्यसलाई बचाउने कि नबचाउने महाधिवेशन प्रतिनिधिले तय गर्छन् ।’ महाधिवेशनले आफूलाई सभापति बनाए आगामी निर्वाचनबाट स्थानीय तहदेखि केन्द्रसम्म कांग्रेसको सरकार हुने देउवाले बताए ।

‘मलाई जिताउनुस् आउँदो सरकार पनि कांग्रेसको हुन्छ, तलदेखि माथिसम्म’ उनले भने, ‘त्यो मेरो जिम्मेवारी भयो ।’ सभापति देउवाले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धाले स्थानीय, प्रदेश र केन्द्रको निर्वाचन समस्या आउन नहुनेतर्फ पनि पार्टीका नेता तथा कार्यकर्तालाई सचेत गराए । जनताले ओलीको सासनबाट मुक्ति पाएको भन्दै अबको अवस्थालाई बचाएर लैजान पार्टीको जिम्मा आफूले लिएको पनि उनले बताए ।