कांग्रेस महाधिवेशन जारी : कति पदमा हुँदैछ निर्वाचन ? - रुपान्तरण
 २०८१ बैशाख १७, सोमबार    

कांग्रेस महाधिवेशन जारी : कति पदमा हुँदैछ निर्वाचन ?


काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन काठमाडौंमा जारी छ । शनिबार आज बिहान १० देखि साँझ ५ बजेसम्म उम्मेद्वारी मनोनयन दर्ता गर्ने कार्य तालिका छ । उम्मेदवारी मनोनयन दर्ताउपर दाबी विरोध र जाँचबुझ आजै साँझ ५ देखि ७ बजेसम्म र दाबी विरोधउपर ७ देखि ९ बजेसम्म निर्णय हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

नेतृत्व चयन गर्ने महाधिवेशन प्रतिनिधिको संख्या जम्मा चार हजार ७४३ कायम रहेको छ । पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार १६५ संघीय निर्वाचन क्षेत्र, भ्रातृ तथा शुभेच्छुक संस्था र विदेशस्थित जनसम्पर्कबाट गरी उक्त संख्यामा महाधिवेशन प्रतिनिधिहरु चयन भएका हुन् । पार्टीको केन्द्रीय निर्वाचन समितिले महाधिवेशन प्रतिनिधिको नामावली प्रकाशन गरिसकेको छ ।

यसअघि हिजो अबेर राती रामचन्द्र पौडेल पक्षका नेताहरुको सहभागिता बिनै बसेको बन्दसत्र राति १० बजे सम्पन्न भएको छ । बन्द सत्रमा महामन्त्रीको प्रतिवेदन, केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रतिवेदन र लेखा समितिको प्रतिवेदन पेश भएकामा सबै पारित भएका छन् ।

यसैगरी बन्द सत्रमा १४ औं महाधिवेशन तयारीका क्रममा कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयबमोजिम विधानको विभिन्न धारा उपधारा व्याख्या, वाधा अड्काउ फुकाउ र निलम्बन गर्ने निर्णय अनुमोदनका लागि प्रस्तुत गरिएको प्रतिवेदन पनि अनुमोदन भएको छ ।

यस्तो छ निर्वाचन कार्यक्रम
उम्मेदवारको मनोनयन दर्ता आज बिहान १० देखि साँझ ५ बजेसम्म हुने कांग्रेस निर्वाचन समितिले जानकारी दिएको छ । यस्तै, आज बेलुका ७ देखि ९ बजेसम्म दाबी विरोधको समय राखिएको छ भने उम्मेदवारको पहिलो नामावली प्रकाशन आजै राति ९ देखि १२ बजेसम्म रहेको छ । यस्तै, मनोनयनपत्र फिर्ताका लागि भोलि आइतबार बिहान ११ बजेसम्म तोकिएको छ ।

यसैगरी, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेर सोमबार बिहान ८ बजेदेखि मतदानको कार्यक्रम तय गरिएको निर्वाचन समितिले जनाएको छ । निर्वाचन सम्पन्न भएपछि सभापति पदको मतगणना लगत्तै सुरु गरिनेछ भने निर्वाचनसम्बन्धी सबै कार्यक्रम राष्ट्रिय सभा गृहमा हुने निर्वाचन समितिले जनाएको छ ।

यस्तै, सभापतिका लागि दोस्रो चरणको निर्वाचन गर्नुपरेमा पनि लगत्तै हुनेछ । सभापतिको हकमा राष्ट्रिय सभागृहमै र अन्य पदाधिकारी र सदस्यहरूको मतगणना पार्टी केन्द्रीय कार्यालयमा गर्ने निर्वाचन समितिले जनाएको छ ।

महाधिवेशनमा कांग्रेसले कोषाध्यक्षबाहेक सबै पदाधिकारीको चयन प्रत्यक्ष निर्वाचनबाट गर्दैछ । महाधिवेशनले १५ जना पदाधिकारीसहित १३५ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गर्ने छ । कांग्रेसको १४ औँ महाधिवेशनबाट एकजना सभापति, २ उपसभापति २ महामन्त्री र ८ सहमहामन्त्री ९क्लस्टर० बाट चयन हुने छन् ।

सभापति, उपसभापति र महामन्त्रीका लागि क्लस्टर नछुट्याएको कांग्रेसले सह–महामन्त्रीका लागि भने क्लस्टर छुट्याएको छ । आठ सह–महामन्त्री पदमा महिलाबाट एक, आदिवासी जनजातिबाट एक, दलितबाट एक, मधेसीबाट एक, खस–आर्यबाट एक, थारूबाट एक, मुस्लिमबाट एक र पिछडिएको क्षेत्रबाट एकजना निर्वाचित हुनेछन् ।

महाधिवेशनबाट कम्तिमा दश वर्ष निरन्तर कांग्रेसको क्रियाशील सदस्य भएका केन्द्रीय महाधिवेशन प्रतिनिधिमध्येबाट प्रत्यक्ष ९खुला० ३५ जना निर्वाचित हुनेछ । यस्तै, महिलाबाट ८ जना, प्रत्येक प्रदेशबाट एक महिलासहित ३, दलितबाट ४ महिलासहित ९ जना, आदिवासी जनजातीबाट ७ महिलासहित १५ जना, खसआर्यबाट ६ महिलासहित १३ जना, मधेशीबाट ४ महिलासहित ९ जना, थारुबाट २ महिलासहित ४ जना, मुस्लिमबाट १ महिलासहित ३ जना र पिछडिएको क्षेत्रबाट १ जना केन्द्रीय सदस्य चुनिने छन् ।

यसैगरी, महाधिवेशनमा अल्पसङ्ख्यक र अपाङ्गताबाट एक एक निर्वाचित हुने छन् भने केन्द्रीय सभापतिले कार्यसमितिमा एक तिहाई महिला, समावेशी सिद्धान्त र अपाङ्गता वा अल्पसङ्ख्यक वा पिछडिएको क्षेत्रको प्रतिनिधित्वलाई ध्यानमा राखी ३३ जना सदस्य मनोनित गर्नेछ । यसैगरी, केन्द्रीय सभापतिले निर्वाचित केन्द्रीय सदस्यमध्येबाट नाम प्रस्ताव गरी निर्वाचित केन्द्रीय कार्यसमितिले निर्वाचित गरेका एक कोषाध्यक्ष हुने व्यवस्था छ ।

१४ औँ महाधिवेशनबाट निर्वाचित हुने १३५ र सभापतिले मनोनित गर्ने ३३ गरी कांग्रेसको केन्द्रीय कार्यसमिति १६८ सदस्यीय हुने छ । केन्द्रीय सभापतिको निर्वाचनका लागि उम्मेदवार हुनेले ३० हजार रूपैयाँ शुल्क तिर्नुपर्छ । यस्तै, उपसभापति र महामन्त्रीका लागि २५ हजार रूपैयाँ तथा सहमहामन्त्रीका लागि २० हजार, केन्द्रीय सदस्य पदका लागि १० हजार रूपैयाँ शुल्क बुझाउनुपर्ने निर्वाचन समितिले जनाएको छ ।