महाधिवेशन भीड जम्मा गर्ने थलो - रुपान्तरण
 २०८१ बैशाख २३, आईतबार    

महाधिवेशन भीड जम्मा गर्ने थलो


काठमाडौं । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले र कांग्रेसको महाधिवेशन भीड जम्मा गर्ने थलो भएको बताएका छन् ।

शनिबार माओवादी केन्द्रको सबै प्रदेशको प्रदेश सम्मेलनलाई काठमाडौंबाट एकैसाथ उद्घाटन गर्दै अध्यक्ष दाहालले नेकपा(एमाले) र नेपाली कांग्रेसको अधिवेशनमा विचार र सिद्धान्तको बहस नभएको भन्दै टिप्पणी गरेका हुन् ।

एमाले अधिवेशनलाई पञ्चर्‍यालीको संज्ञा दिँदै उनले एमाले अधिवेशन विचार हिनताको र विचार शून्यताको अधिवेशनको रूपमा सम्पन्न भएको बताए । त्यस्तै अहिले चलिरहेको नेपाली कांग्रेसको अधिवेशनमा पनि राष्ट्र कस्तो बनाउने र समाजवादउन्मुख राज्य कसरी बनाउने भन्ने सम्बन्धमा बहस नगरिएको भन्दै आलोचना गरे ।

अध्यक्ष दाहालले माओवादी पार्टीभित्र वैचारिक अस्पष्टताका कारण गुटबन्दी र अराजकता लगायतका समस्या देखिएको बताए । पार्टी भित्र विचारको समस्या रहेको र गन्तव्य स्पष्ट नभएको उनको भनाई छ । दाहालले आगामी राष्ट्रिय सम्मेलनबाट २१औं शताब्दीलाई सुहाउँदो नयाँ विचार लिएर आउने र पार्टीलाई विचारमा सशक्त बनाउने पनि बताए ।

अध्यक्ष दाहालले माओवादी अस्पष्ट भएका कारण हेपिनुपरेको भन्दै माओवादीलाई हराउने तागत नेपालमा कसैको नभएको दाबी गरे । अध्यक्ष दाहालले आगामी चुनावमा एक नम्बर पार्टी हुनेगरी आक्रामक रूपले प्रस्तुत हुन नेता, कार्यकर्ताहरुलाई आग्रह गरे ।

उनले माओवादी चुनौती र अवसरको दोसाँधमा रहेको बताएका छन् । उनले शनिबारदेखि सुरु प्रदेश सम्मेलनको भर्चुअल उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले पार्टीमा कमी कमजोरी रहेको भन्दै त्यसलाई सच्चाएर क्रान्तिकारी पार्टीका रूपमा रुपान्तरण गर्नुपर्ने दोसाँधमा रहेको बताएका हुन् ।