निर्मल निवासबाट भएको हस्तक्षेप छानविन होस - रुपान्तरण
 २०८१ बैशाख २३, आईतबार    

निर्मल निवासबाट भएको हस्तक्षेप छानविन होस


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता कमल थापाले अध्यक्ष राजेन्द्र लिङ्देनलाई चारबुँदे पत्र लेख्दै निर्मल निवासबाट भएको हस्तक्षेपको छानविन गर्नुपर्ने आवाज उठाएका छन् ।

नेता थापाले हालै सम्पन्न महाधिवेशनमा निर्मल निवासबाट भएको हस्तक्षेपको छानविन हुनुपर्ने माग गरेका हुन्। उनले भनेका छन,‘राप्रपाको आन्तरिक मामिलामा निर्मल निवासको हस्तक्षेपको यो पहिलो घटना पनि होइन । पार्टीलाई रिमोट कन्ट्रोलबाट चलाउन चाहने निर्मलनिवासको योजनाका बारे पार्टीभित्र बहस शुरु गर्नुहोस्।’

उक्त विषयको निराकरण नभएसम्म पार्टीले कुनै गति लिन नसक्ने थापाको दाबी छ । पार्टीको आन्तरिक राजनीतिमा हस्तक्षेप गर्ने राजालाई बोकेर हिँड्ने नैतिक धरातल समाप्त भएको थापाले पत्रमा उल्लेख गरेका छन् ।

उनको पत्रमा भनिएको छ, ‘पूर्वराजा ज्ञानेन्द्र र निर्मल निवासको पछिल्लो कारवाहीले मेरो मूल्य मान्यताको आधार र धरोहर एकैपटक तहसनहस भएको छ । राजा बोकेर हिँड्ने राप्रपाको नैतिक धरातल समाप्त भएको छ ।’

थापाले निर्मल निवासको हस्तक्षेपका कारण आफू पराजित हुनुपरेको टिप्पणी समेत गर्दै आएका छन्। विगत केही समय यता तथा कथित भजन मण्डली खडा गरेर पार्टी नेतृत्वको चरित्रहत्या गर्ने र राप्रपाका वारेमा भ्रम सिर्जना गर्ने गराउने कार्य निर्मल निवासबाट बारम्बार हुँदै आएको उनले आरोप लगाएका छन ।