क्यानाडामा नेपाल चिनाउँदै एनबी टन्डनः शुरु गरे पृथक अभियान - रुपान्तरण
 २०८१ बैशाख ७, शुक्रबार    

क्यानाडामा नेपाल चिनाउँदै एनबी टन्डनः शुरु गरे पृथक अभियान


काठमाडौं । कोरोना भाइरस विस्तार कम हुँदै गएपछि नेपाल पर्यटन बोर्ड क्यानाडाका मानार्थ प्रतिनिधि(पर्यटन दूत) नरबहादुर टण्डन(एनबी टन्डन)ले अमेरिका र क्यानाडाका शहरहरुमा नेपालको पर्यटन प्रवद्र्धनलाई तिब्रता दिएका छन् ।

आफैंले हाँक्ने लरी ट्रकमा नेपालका पर्यटकीय स्थलहरुको ठूला तस्वीरहरु टाँसेर नेपालको पर्यटन क्षेत्रको प्रचारमा प्रभावकारी भूमिका निर्वाह गर्दै आएका उनले हालै स्थानीय गाडीहरुमा स्टीकर टाँस्ने अभियानलाई अघि बढाएका छन् । क्यानाडा र अमेरिकाका केही शहरमा गुड्ने निजी सवारी साधनमा उनले नेपाल चिनाउने स्टीकर टाँस्ने अभियानलाई तिब्रता दिएका हुन् ।

‘आफ्नो मातृभूमी नेपालका लागि यो मेरो निश्वार्थ काम हो । मेरो अन्तरआत्माले गरेको अभियान हो । मेरो सानो सहयोगले नेपालको समृद्धिमा सहयोग पुग्छ भने म जुनसुकै बेला खटिन तयार छु’उनले हाम्राकुरासँगको कुराकानीमा भने । हालै एक हजार स्टीकर टाँसेर अभियानको थालनी गरेका उनले पुनः एक हजार थान स्टीकर टाँस्ने तयारी गरिरहेको जानकारी दिए । उनको क्रियाशीलताप्रति क्यानाडा सरकारका अधिकारीहरुले तारिफ गरेका छन् ।

‘म क्यानाडा सरकारका मन्त्रीलाई नै नेपाल भ्रमण गराएर नेपाल–क्यानाडा सम्बन्धलाई अझ प्रगाढ बनाउने र पर्यटन प्रवद्र्धनलाई अझ प्रभावकारी बनाउने प्रयास गरिरहेको छु । संभवत यो प्रयासले चाँडै सार्थकता पाउनेछ,’ उनले भने । उनले अघि बढाएका अभियानलाई क्यानाडा सरकार र गैरआवसीय नेपालीहरुले पनि समर्थन जनाउने गरेका छन् ।

यसअघि क्यानाडाका सिटी बसहरुमा नेपालका महत्वपूर्ण पर्यटकीय स्थलका तस्वीरहरु राखेर प्रचार प्रसार गरेका उनले विभिन्न कार्यक्रमहरुमा पनि नेपालको प्रचारलाई अनिवार्य गर्दै आएका छन् । दाङ घर भएका उनी क्यानाडा गएदेखि नै प्रायः आफ्नो निजी खर्चमा नेपालको पर्यटन प्रवद्र्धन गर्दै आएका हुन् । उन

विशेष गरेर नेपालको सर्वोच्च शिखर सगरमाथा, पशुपतिनाथ, लुम्बिनी, पोखरा, स्वयम्भू, नेपालकी जीवित देवी कुमारी साथै विभिन्न नेपाली संस्कृति झल्काउने तस्वीर र भिडियोहरु उनले सार्वजनिक कार्यक्रमहरुमा प्रदर्शनी समेत गर्दै आएको जानकारी दिए । क्यानाडा र अमेरिकामा रहेका नेपाली संघ संस्था र सरकारी निकाय बढी क्रियाशील देखिने गरेका टन्डनले नेपालका सातवटै प्रदेशमा सूचना केन्द्र स्थापना गर्ने अवधारणा पनि अघि सारेको बताउँछन् ।