एमसीसी संसदबाट पारित नगर्न चेतावनी - रुपान्तरण
 २०८१ जेठ १, मंगलबार    

एमसीसी संसदबाट पारित नगर्न चेतावनी


काठमाडौं । एमसीसी खारेजको माग गर्दै विभिन्न राजनीतिक दलहरुले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । मोहन बैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), नेकपा माले लगायतका विभिन्न राजनितिक दलहरुले एमसीसी संसदबाट पारित नगर्न चेतावनी दिए ।

कार्यक्रमका वक्ताहरुले एमसीसी अनुदान नभएको दाबी गर्दै एमसीसी मार्फत अमेरिकाले नेपाललाई सैन्य रणनीतिभित्र पारेर चीनसँग लड्ने अखडा बनाउन चाहेको जिकिर गरे । ५० करोड डलरमा नेपालको स्वाधीनता बिक्री गर्न खोजेको उनीहरुको दाबी छ ।

एमसीसी अनुमोदन नभए पनि संस्थाका नाममा ११ अर्ब बढी रकम खर्च भइसकेको उनीहरुको आरोप छ । यता,नेपाल मजदुर किसान पार्टीकासांसद प्रेम सुवालले एमसीसी सम्झौता खारेज हुनुपर्ने माग राखेका छन् । उनले एमसीसी राष्ट्रघाती भएको भन्दै खारेजीको माग गरेका हुन् ।

मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले ‘एमसीसी अमेरिकी सहयोग होइन विष जस्तै हो,’ उनले भने, ‘यो सम्झौता गर्नेले राष्ट्रघाति काम गरेका छन्। एमसीसी खारेज हुनुपर्छ।’