माओवादी केन्द्रमा अब बहु पदीय संरचना - रुपान्तरण
 २०८१ जेठ १, मंगलबार    

माओवादी केन्द्रमा अब बहु पदीय संरचना


काठमाडौं । माओवादी केन्द्रले पार्टीलाई बहु पदीय संरचनामा लाने भएको छ । माओवादीभित्र अध्यक्ष पछिको वरियता निर्धारण, तथा अन्य पदाधिकारीहरूको समेत निर्धारण गर्ने पनि भएको छ । हालैको स्थायी कमिटी बैठकमा माओवादीका नेताहरूले वरिष्ठ उपाध्यक्षसहितको व्यवस्था गरेर जानुपर्ने धारणा राखेको र त्यसलाई राष्ट्रिय सम्मेलनको हलमा पेस गर्ने जनाएका थिए।

बैठकमा पदाधिकारी सङ्ख्या ५ बाट बढाएर १५ पुर्‍याउने प्रस्ताव गरिएको थियो। त्यसमा अध्यक्ष प्रचण्डले मौन स्वीकृति जनाइसकेका छन्। पार्टी बहु पदीय संरचनामा जाँदै छ, पदाधिकारी सङ्ख्या बढाएर १५ सदस्यीय पुर्‍याइयो भने नेताहरूको व्यवस्थापन गर्न पनि सहज हुन्छ भन्ने हेतुले पदाधिकारी बढाउने प्रस्ताव आएको छ’, बैठकमा सहभागी एक नेताले भने।

उनका अनुसार पार्टीलाई नयाँ रूपमा अघि बढाउन पाँच जना पदाधिकारीले अपुग भएको हुँदा सङ्गठन चलायमान बनाउन पनि पदाधिकारी बढाउनुपर्ने प्रस्ताव आएको हो। माओवादीभित्र मुख्य नेतृत्व बाहेक सबै पदमा धेरै नेताहरूको दाबी रहेका कारण पनि अहिलेलाई पदाधिकारीहरूको सङ्ख्या बढाउनु पर्ने बाध्यता रहेको नेताहरूले जनाएका छन्।

यसअघि माओवादी केन्द्रले तयार पारेको विधानमा ५ जना मात्रै पदाधिकारी रहने व्यवस्था थियो। सोही विधानलाई संशोधन गरेर प्रदेश र जिल्ला तहमा पदाधिकारी र सदस्य सङ्ख्या निर्धारण गरेको थियो। अहिले केन्द्रमा राष्ट्रिय सम्मेलन गर्ने भएकाले हलबाटै पदाधिकारीहरूको सङ्ख्या निर्धारण गर्ने माओवादी केन्द्रका कार्यालय सचिव श्रीराम ढकालले बताएका छन्।

स्थायी कमिटीमा गरिएको प्रस्ताव अनुसार एक अध्यक्ष, वरिष्ठसहित सात जना उपाध्यक्ष, तीन जना सचिव, एक जना महासचिव, एक जना उपमहासचिव र कोषाध्यक्ष एक जना बनाउने प्रस्ताव आएको गरिएको छ। अहिले एमालेमा १९ सदस्यीय पदाधिकारी रहेको छ। तर माओवादीले त्यो भन्दा ४ सदस्य कम गरी प्रस्ताव गरेको छ। तर पुरै संरचना भने एमालेभन्दा भिन्न नभएको माओवादी नेताहरूले बताएका छन्।