प्रचण्डको प्रतिवेदनमाथि लेखनाथ न्यौपानेको फरक मत - रुपान्तरण
 २०८१ जेठ २, बुधबार    

प्रचण्डको प्रतिवेदनमाथि लेखनाथ न्यौपानेको फरक मत


काठमाडौं । काठमाडौंमा जारी नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदनमाथि छलफल सकिएको छ ।

दाहालको प्रतिवेदनमाथि महाधिवेशन प्रतिनिधिले २५ समूहमा छलफल गरेका थिए । प्रतिवेदनबारे टोली नेताहरुले पालैसँग छलफलको निष्कर्ष सुनाएका थिए । दाहालको प्रतिवेदनमाथि छलफल सकिए लगत्तै माओवादीको स्थायी कमिटी बैठक शुरु भएको छ ।

बैठकमा अध्यक्ष दाहालको प्रतिवेदनमाथि आएका पूरक वा फरक प्रस्तावलाई महाधिवेशनमा वाचन गर्न दिने कि नदिने भन्ने विषयमा छलफल हुने एक स्थायी कमिटी सदस्यले जानकारी दिए ।

दाहालले भने प्रतिवेदनमाथि उठेका प्रश्नहरुको जवाफ शुक्रबार दिनेछन् । माओवादीको आठौं महाधिवेशनको बन्दसत्र कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा जारी छ । महाधिवेशनको उद्घाटन भने पुस ११ गते भएको थियो ।

यता, प्रचण्डले पेश गरेको वैचारिक राजनीतिक दस्तावेजमाथि नेता लेखनाथ न्यौपानेले फरक मत राखेका छन् । प्रतिवेदनमाथिको समूहगत छलफलका क्रममा नेता न्यौपानेले दस्तावेज अपूर्ण रहेको भन्दै १० बुँदे फरक मत राखेका हुन् । समूहगत छलफलको निष्कर्ष राख्दै उपत्यका विशेष प्रदेशका नेता जगत सिंखडाले बन्द सत्रको हललाई उक्त जानकारी गराएका हुन् ।

नेता न्यौपानेले राजनीतिक दस्तावेजले विचार, दृष्टिकोण र दिशा समात्न नसकेको, नेपाली समाजको अन्तर्विरोध, वर्ग सम्बन्ध र सङ्घर्ष, उत्पादन प्रणाली, उत्पादनको साधनमाथिको स्वामित्व र वितरण प्रणालीबारे ठोस विश्लेषण गर्न नसकेको टिप्पणी गरेका छन् ।