माओवादी केन्द्रमा पहिलो पटक प्रतिस्पर्धाबाट नयाँ नेतृत्व - रुपान्तरण
 २०८१ जेठ २, बुधबार    

माओवादी केन्द्रमा पहिलो पटक प्रतिस्पर्धाबाट नयाँ नेतृत्व


काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ । शनिबार दिउँसो केन्द्रीय निर्वाचन समितिले मतदाता सूची सार्वजनिक गरेसँगै निर्वाचन प्रक्रिया शुरु भएको हो ।

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा समितिले १ हजार ७ सय ४२ जना महाधिवेशन प्रतिनिधिको नाम प्रकाशन गरेको हो । निर्वाचन तालिका सार्वजनिक गरेसँगै पहिलो पटक प्रतिस्पर्धामार्फत नयाँ नेतृत्व चयन हुन लागेको हो ।

प्रकाशित नाम असहमति भए त्यसविरुद्ध उजुरीको व्यवस्था छ । साँझ ६ बजेसम्म अन्तिम नामावली प्रकाशित गर्ने तयारी छ । त्यसपछि भने प्रकाशित नामम उजुरी लाग्नेछैन ।

माओवादी केन्द्रमा १५ पदाधिकारीसहित २ सय ९९ केन्द्रीय सदस्य निर्वाचित हुनेछन् । तीमध्ये ५० प्रतिशत समानुपातिक र ५० प्रतिशत खुला निर्वाचित हुने व्यवस्था छ । महाधिवेशनले केन्द्रीय कमिटी, केन्द्रीय कमिटीले पोलिट्व्यूरो, स्थायी कमिटी र पदाधिकारी चयन गर्नेछ ।

विधानअनुसार खुल्ला ५० प्रतिशत र ५० प्रतिशत समानुपातिक प्रणालीका आधारमा नेतृत्व चयन गरिदैछ । यस्तै, केन्द्रीय समितिले १५ प्रतिशत मनोनयन गर्ने व्यवस्था गरिएको छ । कूल ५० प्रतिशत समानुपातिकमा दलित, मुस्लिम, थारु, मधेशी, आदिवासी, जनजाती, खस आर्य, अपाङ्गता भएका, पिछडिएको क्षेत्र, महिला र युवाको क्लस्टर तय गरिएको छ । केन्द्रीय समितिमा सबै क्लस्टर र खुल्लाबाट गरी ३५ प्रतिशत महिला र २० प्रतिशत ४० वर्ष मुनिका युवाको प्रतिनिधित्व गराइने भएको छ ।