देउवाको आग्रह : पौडेलजीले सानो चित्त नबनाउँदा राम्रो - रुपान्तरण
 २०८१ जेठ ७, सोमबार    

देउवाको आग्रह : पौडेलजीले सानो चित्त नबनाउँदा राम्रो


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले सरकार नेतृत्वको जिम्मेवारी काँधमा आए नहट्ने बताएका छन् ।

पूर्व सांसद् एवं नेपाली कांग्रेसका नेता एकनाथ रानाभाटको श्रद्धान्जली सभामा बोल्दै सभापति देउवाले कांग्रेस पदको लोभ नगर्ने पार्टी भएकाले पदको लोभ पनि नगर्ने तर जिम्मेवारी आए पछि नहट्ने प्रष्ट पारे ।

तर सोही शोकसभामा बोलेका वरिष्ठ नेता रामचन्द्र पौडेलले भने अहिलेको परिस्थितिमा कांग्रेसले प्रतिपक्षको भूमिका भुल्न नहुने बताए । उनले जनताले प्रतिपक्षमै बस्ने म्यान्डेड दिएकाले कांग्रेस आफ्नो भूमिकाबाट विचलिन हुन नहुने धारणा राखे ।

पौडेलको भनाइलाई काउन्टर दिँदै सभापति देउवाले कांग्रेसले सरकारको नेतृत्व गर्दा देशलाई फाइदा हुने भएकाले सानो चित्त नबनाउन पौडेललाई आग्रह गरे ।

आफू प्रधानमन्त्री भएमा पार्टीलाई फाइदै हुने भन्दै सभापति देउवाले भने, “चिन्ता नलिनुस् रामचन्द्र जी म पार्टीकै मान्छे प्रधानमन्त्री भए भने अरूको भन्दा आफ्नै पार्टीकालाई फाइदा होला ।” उनले थपे, “तपाई शेरबहादुर जी हुनै हुँदैन भन्ने चाहनुहुन्नजस्तो लाग्छ । मलाई तपाईँको भनाइबाट त्यही बुझियो ।”

कांग्रेसले संसद्मा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्नका लागि भने २१ गते संसदीय दलको बैठक बोलाइसकेको छ । सो बैठकबाटै २३ गते बस्ने संसद् बैठकमा कसरी प्रस्तुत हुने भन्ने निर्णय लिने कांग्रेसको तयारी छ ।

कार्यक्रममा सभापति देउवा, वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला लगायतका नेताहरूले पूर्व सांसद एकनाथ रानाभाटको योगदानको स्मरण गर्दै संगठनलाई मजबुद बनाएर जनताको चाहनालाई पूरा गर्न सके उनीप्रति सम्मान हुने बताएका थिए ।