डा.शेखरको बेग्लै भेला: देउवाप्रति प्रश्न, पौडेलप्रति शंका - रुपान्तरण
 २०८१ जेठ १, मंगलबार    

डा.शेखरको बेग्लै भेला: देउवाप्रति प्रश्न, पौडेलप्रति शंका


काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कुन मापदण्डको आधारमा पार्टीको केन्द्रीय सदस्यहरु मनोनित गरिएको हो भनि सभापति शेरबहादुर देउवालाई प्रश्न गरेका छन् ।

बुधबार नेता कोइरालाले काठमाडौंमा पार्टीको १४ औँ महाधिवेशनमा आफ्नो समुहबाट निर्वाचन लडेका नेताहरुको बैठकलाई सम्बोधन गर्दै केन्द्रीय सदस्यहरुलाई के मापदण्ड अपनाएर नियुक्त गरिएको हो ? सो कुरा जान्न चाहेको भनि सभापति देउवालाई प्रश्न गरेका हुन् ।

उनले पार्टीमा न्यायोचित अवसरको वितरण र व्यवस्थापन हुनुपर्ने बताए । उनले पार्टी सभापतिलाई मन पर्ने र मन नपर्ने आधारमा व्यक्तिको छनौट भएमा दुर्घटना निम्तिनसक्ने चेतावनी समेत दिए ।

कोइरालाले पार्टीका निष्ठावान, इमान्दार र त्यागी नेता, कार्यकर्ताहरुलाई पाखा लगाउने कामका विरुद्ध आवाज उठाउनुपर्ने बताए । पार्टी नेतृत्वको गतिविधि र निर्णयले कांग्रेस संगठनमा निराशा पैदा भए आगामी निर्वाचनहरु असहज हुन सक्ने उनको भनाई छ ।

कोइरालाले आगामी तीन वटै तहको निर्वाचनमा नेपाली कांग्रेस एक्लै लड्ने बताए । कांग्रेसलाई एक्लै लडेर विजयी बनाउने उनले बताए । पार्टीलाई एक नम्बरको पार्टी बनाउन र कांग्रेस एकता र रुपान्तरणको सन्देश बोकेर जनताको विचमा जाने पनि उनले उल्लेख गरे ।

उक्त भेलाले संस्थापनइतर समूहबाट रामचन्द्र पौडेल औपचारिक रुपमा ‘आउट’ भएको संकेत पनि गरेको छ । महाधिवेशनमा पौडेलले देउवालाई सघाएको ठहर गरेको छ। पौडेल देउवातर्फ नै लागेको निष्कर्षसहित संस्थापन इतरले सभापतिमा पराजित डा कोइरालालाई नेताका रुपमा अघि बढाउने संकेत बुधबारको बैठकबाट पनि गरेका थिए ।