पाँच दलीय गठबन्धनको आयु सकियो - रुपान्तरण
 २०८१ जेठ १, मंगलबार    

पाँच दलीय गठबन्धनको आयु सकियो


इलाम । नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्बाङले सत्तारुढ पाँच दलीय गठबन्धनको आयू सकिएको दाबी गरेका छन् । एमाले इलामको दशौं जिल्ला अधिवेशनको उद्घाटनलाई सम्बोधन गर्दै उपाध्यक्ष नेम्बाङले सत्ताधारी गठबन्धन विना मुल्य र मान्यताको आधारमा बनेकाले सँगसँगै बस्न नसक्ने अवस्थामा पुगिसकेको दावी गरे ।

पाँच दलीय गठबन्धन दुई मिनेट पनि सँगै बस्न सक्ने अवस्थामा नरहेको उल्लेख गर्दै उनले प्रतिपक्षले सत्तामा हुनेहरुको आलोचना गर्नुपर्नेमा सत्तामा हुनेहरुले प्रतिपक्षीलाई आलोचना गरिरहेको घटनाले गठबन्धन उल्टो बाटोमा हिंडेको आरोप लगाए ।

एमालेलाई गठबन्धनले घेराबन्दीमा पारेर चौतर्फी प्रहार गरिरहेको भएपनि एमाले झन्झन् बलियो बन्दै गएको र गठबन्धन झन्झन् कमजोर बन्दै गएको दावी गरे ।

सरकारले एउटा पनि राम्रो काम गर्न नसकेको आरोप लगाउँदै नेम्बाङले तत्कालिन प्रधानमन्त्री केपी ओलीले गरेको प्रतिनिधिसभा विघटन ठीक थियो भन्ने प्रमाणित भएको बताए । ‘अदालते प्रतिनिधिसभा पुनःस्थापना नगरेको भए यतिबेला निर्वाचन भएर नयाँ जनप्रतिनिधि आइसकेको हुन्थ्यो’ नेम्बाङले भने, ‘तर त्यतिबेला प्रतिगमन भयो भन्नेहरुको कारण देशमा यस्तो अवस्था सिर्जना भयो । न संसद चल्यो, न सरकारले नै काम गर्न सक्यो ।’