नेपालमा कोरोना संक्रमणको तेस्रो लहरको संकेत - रुपान्तरण
 २०८१ बैशाख २५, मंगलबार    

नेपालमा कोरोना संक्रमणको तेस्रो लहरको संकेत


काठमाडौं । नेपालमा कोरोना संक्रमणको तेस्रो लहरको संकेत देखिएपछि सरकारले सजकता अपनाउन आग्रह गरेको छ । शुक्रबार एकै दिन २४ जनामा ओमिक्रोन संक्रमण पुष्टि भएसँगै तेस्रो लहर छिटै आउन सक्ने संकेत देखिएको हो ।

छिमेकी देश भारत र चीनसहित विश्वलाई आक्रान्त पार्न थालेको ओमिक्रोन भेरियन्टले नेपालमा समेत भयावह रूप लिनसक्ने भन्दै विज्ञहले बेलैमा सतर्कता अपनाउन र तयारी गर्न भनेका छन् ।
छिमेकी देश भारतमा बढ्दै भएको ओमिक्रोन संक्रमणको असर नेपालमा समेत देखिन सुरु भइसकेको छ । शुक्रबार एकैदिन २४ जना थपिएसँगै २७ जनामा ओमिक्रोन पुष्टि भइसकेको छ । जसका कारण अबको केही सातामा ओमिक्रोनले संक्रामक रूप लिनसक्ने प्रक्षेपण समेत गरिएको छ ।

दोस्रो लहरको प्रभावित पछिल्ला ४ महिनामा सुस्ताउँदै गएको थियो । तर, दोस्रो लहरको प्रभाव नसकिँदै तेस्रो लहरले आक्रान्त पार्ने संकेत देखिएको भन्दै विज्ञहरूले सचेत गराएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ओमिक्रोनको संक्रमण बढ्न सक्ने भन्दै सबै अस्पतालहरूलाई तयारी अवस्थामा बस्न निर्देशन दिएको छ ।

नेपालमा पुस १५ यता एक साताको अवधिमा २ हजार ५ सय नयाँ संक्रमित थपिएका छन् । पुस १५ गते २ सय ४१ रहेको संक्रमितको संख्या प्रत्येक दिन बढेर दैनिक ५ सयमाथि पुगिसकेको छ । परीक्षणको तुलनामा १ प्रतिशतमा झरेको संक्रमण दर ४ प्रतिशतमाथि पुगेको छ ।

यता, प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाको संक्रमण फैलन नदिन उच्च सतर्कता अपनाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

कोरोना संक्रमितको संख्या बढ्न थालेपछि शुक्रबार बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)को बैठकमा प्रधानमन्त्रीले नागरिकको जीवन पहिलो प्राथमिकता हुने भन्दै जीवन रक्षाका लागि आवश्यक हरेक प्रकारको तयारीमा रहन मातहतका निकायलाई निर्देशन दिए ।

उनलेस्कूल, कलेजदेखि विभिन्न ठाउँमा खोप केन्द्र स्थापना गरेर खोप अभियान नै चलाउन स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिए । प्रधानमन्त्रीले स्वास्थ्य सामग्रीदेखि अन्य आवश्यक सामग्रीको पनि पूर्वतयारीमा जोड दिए । बैठकमा संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सीमा नाकालाई व्यवस्थित बनाउने पनि निर्णय भएको छ ।