प्रचण्ड र नारायणकाजीसहित माओवादी केन्द्रका नेता–कार्यकर्तालाई कोरोना संक्रमण - रुपान्तरण
 २०८१ बैशाख ४, मंगलबार    

प्रचण्ड र नारायणकाजीसहित माओवादी केन्द्रका नेता–कार्यकर्तालाई कोरोना संक्रमण


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित केही नेतालाई कोरोना संक्रमण भएको छ । प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठसहित आधा दर्जन नेतालाई कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको हो ।

त्यस्तै पार्टी कार्यालयका कर्मचारीसहित एक दर्जनलाई कोभिड पुष्टि भइसकेको छ । हालै सम्पन्न माओवादी महाधिवेशनका १,७०० सहभागी सबैलाई कोरोनाभाइरस परीक्षण गरिएको थियो ।

शुक्रवार गरिएको एन्टिजन र पीसीआर परीक्षणमा पूर्वप्रधानमन्त्री अध्यक्ष प्रचण्डलाई पनि सङ्क्रमण पुष्टि भएको उनको सचिवालयले जनाएको छ। ‘उहाँ अहिले आफ्नै निवासमा स्वास्थ्यलाभ गरिरहनु भएको छ। स्वास्थ्य अवस्था सामान्य छ,'उनको सचिवालयले एक विज्ञप्तिमा भनेको छ।

‘स्वास्थ्यकर्मीको सल्लाह अनुसार उहाँ केही दिन आइसोलेसनमा रहनु हुनेछ। कोभिड–१९ को कारण उहाँका केही पूर्वनिर्धारित कार्यक्रममा उहाँको सहभागिता हुन नसकेकोमा हामी दुखी छौं ।’

त्यस्तै प्रचण्डका स्वकीय सचिव रमेश मल्ललाई पनि सङ्क्रमण पुष्टि भएको छ। माओवादीका पूर्वउपाध्यक्ष नारायणकाजी श्रेष्ठले पनि आफूलाई कोरोना सङ्क्रमण पुष्टि भएको सामाजिक सञ्जाल मार्फत जानकारी गराएका छन्।

महाधिवेशनपछि धेरैलाई एकसाथ सङ्क्रमण देखिएपछि सबै प्रदेश समितिमार्फत सहभागीहरूलाई सतर्कता अपनाउन र परीक्षण गर्न भनिएको छ । कर्मचारीलाई कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएपछि कोटेश्वरको पेरिसडाँडास्थित माओवादीको पार्टी कार्यालयमा बिहीवारदेखि नै अतिआवश्यक बाहेकका काम बन्द गरिएको छ।