पछि हटे धुर्मुस-सुन्तलीः रङगशाला निर्माणको जिम्मा महानगरको काँधमा - रुपान्तरण
 २०८० चैत्र १६, शुक्रबार    

पछि हटे धुर्मुस-सुन्तलीः रङगशाला निर्माणको जिम्मा महानगरको काँधमा


काठमाडौं । महत्वकांक्षी लक्ष्यसहित धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण शुरु गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङगशाला निर्माणको जिम्मा भरतपुर महानगरपालिकाको काँधमा आइपुगेको छ । तीन अर्ब हाराहारी खर्च हुने अनुमान गरिएको रंगशाला निर्माणमा फाउन्डेशनले हात झिकेपछि महानगरको स्वामीत्वमा आइपुगेको हो ।

आर्थिक संकलन गर्न नसकेको जनाउँदै फाउण्डेशनले भरतपुर महानगरपालिकालाई स्वामित्व लिनका लागि अनुरोध गरेको थियो । महानगरपालिकाकी मेयर रेणु दाहालले रंगशालाको स्वामित्व अब भरतपुर महानगरपालिकाले लिने बताइन ।

मेयर दाहालले फाउण्डेशनले दिएको आर्थिक र प्राविधिक प्रतिवेदनको सरकारी पक्षबाट मूल्यांकन गरिसकेपछि रंगशालाको स्वामित्व महानगरपालिकाले लिने बताइन । मेयर दहालले धुर्मुस–सुन्तली फाउण्डेशनले आफूलाई १७ करोड ऋण लागिसकेको र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरबाट पनि सोचेअनुरुपको सहयोग प्राप्त नभएकोले महानगरलाई स्वामित्व लिन आग्रह गरेको र महानगरले अब रंगशालाको लागि काम अघि बढाउने बताइन ।

दाहालले सरकार जिम्मेवारीबाट पन्छिन नमिल्ने भन्दै रंगशाला बनाउँदा लागेको ऋण र बहुवर्षीय योजनाअनुसार काम अघि बढाउन संघीय सरकारलाई आग्रह गर्ने बताइन । महानगरले फाउण्डेशनलाई काम अघि बढाउन वा सम्झौता अनुसार स्वामित्व हस्तान्तरण गर्न भनेको थियो ।

फाउण्डेशनले महानगरमा पेश गरेको विवरण सरकारी तवरबाट जाँचबुझ गरी मन्त्रालयमार्फत् मन्त्रिपरिषद्मा पठाएर तिर्नुपर्ने भुक्तानी तिर्नका लागि प्रक्रिया अघि बढाइँदै छ। बाँकी कामका लागि बहुवर्षीय योजना अन्तर्गत बोलपत्र आह्वान गरी काम अघि बढाउन महानगरले सङ्घीय सरकारलाई अनुरोध गरेको छ ।

महानगरपालिकाले नै त्रिभुवन र कृषि तथा वन विज्ञान विश्वविद्यालयसँग समन्वय गरेर सो जग्गा रङगशालाका लागि उपलब्ध गराएको हो। फाउण्डेशनले नेतृत्व गरेको भए पनि अधिकांश आर्थिक सहयोग जुटाउन महानगरपालिकाको प्रत्यक्ष भूमिका रहेको छ।

आर्थिक अभावका कारण विगत पाँच महिनादेखि रङगशाला निर्माणको काम हुनसकेको छैन। उधारो आर्थिक व्ययभार बढ्दै गएको र आर्थिक सङ्कलन हुन नसकेको भन्दै काम रोकिएको हो। फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेलले चरम आर्थिक सङ्कटबाट गुज्रिएपछि काम रोक्नुपरेको बताउँदै आएका थिए । उनले जनस्तरबाट रकम उठ्ने सम्भावना पनि नभएको र सरकारले नदिएका कारण आर्थिक सङ्कट आएको बताए।

रङ्गशालाको भौतिक पूर्वाधारको ३५ प्रतिशत काम सकिएको फाउण्डेशनले दाबी गरेको छ। रङ्गशालामा अहिलेसम्म ५४ करोड ६२ लाख २१ हजार खर्च भइसकेको यसअघि नै फाउण्डेशनले दाबी गरेको थियो। रङ्गशाला सम्पन्न गर्न तीन अर्ब हाराहारी खर्च हुने अनुमान गरिएको छ।