कोरोनाको त्रास : काठमाडौं उपत्यकामा कडाइ - रुपान्तरण
 २०८१ बैशाख ८, शनिबार    

कोरोनाको त्रास : काठमाडौं उपत्यकामा कडाइ


काठमाडौं । कोरोना भाइरसको नयाँ भेरियन्टको संक्रमण बढ्न थालेपछि देशभरका जिल्ला प्रशासन कार्यालयहरुले थप सजकता अपनाउन थालेका छन् । यता, काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले २५ जनाभन्दा बढी मानिस जमघट तथा भेला हुन रोक लगाएका छन् ।

प्रशासनले राजनीतिक दलका सभा–सम्मेलनसहित भीडभाडजन्य सबै गतिविधि गर्न पनि बन्देज लगाएको हो । माघ ७ गतेदेखि जिल्लाभित्रका सबै सार्वजनिक सेवा लिन खोप कार्डलाई अनिवार्य गरिएको छ । ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले तीनवटै प्रशासनका प्रमुखहरूको बैठक बसेर कोरोनाको पछिल्लो भेरिएन्ट फैलिन नदिन आवश्यक मापदण्ड जारी गरिएको बताए ।

यस्तै प्रशासनले सार्वजनिक सवारीसाधनहरुमा तोकिएको सिट क्षमताभन्दा बढी यात्रु चढाउन नपाइने पनि निर्णय गरेको छ । साथै, उद्योग व्यवसायहरूमा समेत कार्यरत मजदुरलाई जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्न निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताए ।

यस्तै, कोरोना संक्रमण नियन्त्रणका लागि बैठक, गोष्ठी र सेमिनारहरू भर्च्युअल माध्यमबाट गर्न पनि प्रशासनले आग्रह गरेको छ । भौतिक उपस्थतिमा यस्ता बैठक वा सभा सम्मेलन गर्नुपर्ने भएमा स्वास्थ्य मापदण्ड अनिवार्य रूपमा पालना गर्नुपर्ने प्रशासनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

स्वास्थ्य मापदण्ड पालना गराउने दायित्व सम्बन्धित आयोजकको रहने र पालना नभएको पाइए कानुन बमोजिम कारबाही गर्ने निर्णय पनि बैठकले गरेको छ । बैठकले अत्यावश्यक नपरी घरबाहिर ननिस्कन र निस्कँदा अनिवार्य मास्क प्रयोग गर्न पनि सर्वसाधारणहरूसँग आग्रह गरेको छ ।