६ महिनामा शतप्रतिशत पुँजीगत खर्च गरिसक्न अर्थमन्त्रीको आग्रह - रुपान्तरण
 २०८१ बैशाख १२, बुधबार    

६ महिनामा शतप्रतिशत पुँजीगत खर्च गरिसक्न अर्थमन्त्रीको आग्रह


काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७८/०७९ को बाँकी ६ महिनामा शतप्रतिशत पुँजीगत खर्च गरिसक्न विभिन्न मन्त्रालयलाई आग्रह गरेका छन् । मङ्गलवार मन्त्रालयमा आर्थिक वर्ष २०७८/०७९ को हालसम्मको खर्चको समीक्षा बैठकमा उनले सचिवहरूलाई सो आग्रह गरेका हुन् ।

उनले आवश्यक परे मध्यरातमा पनि आफू सहयोग गर्न तयार रहेको भन्नुहुँदै जसरी पनि खर्च गर्न आग्रह गरे । ‘आर्थिक वर्षको ६ महिना बितिसक्यो । बाँकी ६ महिनामा शतप्रतिशत बजेट खर्च गर्नुपर्छ’, उनले भने, ‘त्यसको लागि मैले रातको १२ बजे पनि तपाईँहरूलाई सहयोग गर्न तयार छु ।’

मन्त्री शर्माले बजेट खर्च गर्ने अन्य उपायहरू खोज्न बताउनुहुँदै जसरी पनि खर्च बढाउन आग्रह गरेका हुन् । उनले ठूला योजनाहरूमा स्थानीय तह र स्थानीय जनतालाई समेत सहभागी गराएर अगाडि बढाउनुपर्नेमा जोड दिए । ठूला योजनाहरूमा अपनत्वका लागि उनीहरूलाई सहभागी गराएर मात्र छिटो काम गर्न सकिने उनको भनाइ छ ।

त्यस्तै उनले विद्यमान प्रणालीमा सुधार गर्नुपर्ने आवश्यकता पनि औँल्याए । उनले फाइल हरेक मन्त्रालयमा बोकेर हिँड्दा ढिला हुने भन्नुहुँदै अब डिजिटल माध्यममा लैजानुपर्ने बताए ।