कार्यकर्ता निराश बनाउने रामचन्द्र पौडेलको त्यो भूमिका - रुपान्तरण
 २०८१ बैशाख ७, शुक्रबार    

कार्यकर्ता निराश बनाउने रामचन्द्र पौडेलको त्यो भूमिका


काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा संस्थापन इतर समूहबाट उम्मेदवार छान्न निकै सकस भयो । जसको फलस्वरुप सभापतिको दौडमा रहेका रामचन्द्र पौडेल आफ्नै समूहका डा.शेखर कोइराला र प्रकाशमान सिंहलाई सहमतिमा ल्याउन नसक्दा सभापतिको रेसबाट बाहिरिए ।

अन्ततः डा.कोइराला र सिंह मैदानमा उत्रिए । शेर बहादुर देउवासँग कडा टक्कर दिनका लागि डा.कोइराला मैदानमा उत्रिए र उपविजेता बने । यही महाधिवेशनबाट संस्थापनइतर समूहबाट साझा उम्मेदवार उठ्ने पौडेलको आकांक्षामा ठेस लाग्यो । र प्रतिस्पर्धाबाट अलग भएको घोषणा गरे ।

त्यतिमात्र नभइ उनी आफ्नो समूहका उम्मेदवारलाई मत दिनका लागि पनि गएनन् । मतदान शुरु हुनु अघि उनले एक सन्देश प्रवाह गरे–सभापतिको प्रतिस्पर्धाबाट आफु अलग भएपनि आस्थावान कांग्रेसजनहरुलाई आफ्नो विवेक प्रयोग गरेर लोकतान्त्रिक प्रतिस्पर्धाको आदर्श र मूल्यललाई जोगाउनुहोस ।

पौडेलको आत्मनिर्णयले आफ्नो समूहभीत्र विग्रह देखिन थाल्यो । पौडेलको शैलीप्रति दोस्रो पुस्ताका नेताहरुले असन्तुष्टी जनाए । त्यतिमात्र नभइ संस्थापनइतर समूहबाट पौडेल औपचारिक रुपमा आउट भएको चर्चा पनि गरियो । संस्थापन इतरको समीक्षा बैठकले महाधिवेशनमा पौडेलले देउवालाई सघाएको ठहर गर्यो । पौडेल देउवातर्फ नै लागेको निष्कर्षसहित संस्थापन इतरले सभापतिमा पराजित डा.कोइरालालाई नेताका रुपमा अघि बढाउने संकेत गरिसकेको छ ।

त्यसको लामो समयपछि पौडेलले रुपान्तरणका कुरा गर्नेहरुबीच नै एकता नभएपछि आफू १४ औं महाधिवेशनको प्रकृयाबाट अलग्गिएको प्रतिक्रिया दिएका छन् । विहीबार कांग्रेस स्याङ्जाले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता पौडेलले पार्टीलाई अब सहमतिको आधारमा अगाडी बढाउने बताए । महाधिवेशन सकिए पनि ठूला चुनौती आफूहरु माझ रहेको उनको भनाई छ ।

१३ औँ महाधिवेशनमा देउवासँग पराजित भएपछि संस्थापनइतर समूहको स्वभाविक दाबेदारका रुपमा रहेका पौडेल साझा उम्मेदवार बन्न नसकेपछि निराश भएका पौडेल अब कसरी अगाडि बढ्छन् भन्ने कार्यकर्तामा चासो छ । पार्टीमा लामो समयदेखि क्रियाशील पौडेल सादगी, वैचारिक र अध्ययनशील नेताका रुपमा चिनिन्छन् ।

केन्द्रीय सदस्य पनि निर्वाचनमार्फत् नै चयनको प्रक्रिया शुरु गरेको दशौँ महाधिवेशनमा सबैभन्दा धेरै मत प्राप्त गरेर लोकप्रिय नेताको छवि बनाएका पौडेल त्यसपछि पार्टी उपसभापति र वरिष्ठ नेताका रुपमा क्रियाशील भएका थिए । पटकपटक लाभको पदमा पुगेर पनि खासै विवादमा नपरेका पौडेल इमान्दार र निस्कलंक छवि भएका नेताका रुपमा चिनिए पनि १४औं महाविधेशनमा उनले खेलेको भूमिकाप्रति कार्यकर्ताले त्यति खुशी मानेका छैनन् ।